दमौली, बैशाख १६
पृथ्वीराज राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको आयोजनामा दुर्घटना न्युनिकरण तथा प्रशिक्षण कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले चालक र सहचालकलाई समय–समयमा तालिम दिनु पर्ने बताए ।
दुर्घटना मानविय कारणहरुमा अनावश्यक प्रतिस्पर्धा गर्ने, मादक पदार्थ सेवन गरेर चलाउने, चालकको हेलचेक्र्याइँ, सवारी साधनलाइ समय समयमा मर्मत नगर्ने, साँघुरो बाटो, हर्न नबजाउने आदि धेरै कारणले दुर्घटना हुने गरेको बताए ।
सो कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी.ले नेपालमा दैनिक ७ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको जानकारी दिए । उनले चालक र सह चालकहरुले आफ्नो बोली र व्यवहारहरु राम्रो गरेर यात्रुहरुको सम्मान गर्नु पर्ने बताए ।
पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी दमौली क्षेत्रीय संयोजक विक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय तनहूँका न्यायाधिवक्ता गोविन्द उपाध्याय, ट्राफिक कार्यालयका गण्डकी प्रदेशका प्रमुख सुमनकुमार तिमिल्सेना लगायतले मन्तव्य राखेका थिए ।
जिल्ला ट्राफिक कार्यालय तनहूँको तथ्यांक अनुसार तनहुँमा २०७९ सालको साउनबाट २०८० बैशाख १५ गतेसम्म २८३ वटा दुर्घटना पृथ्वी राजमार्गमा भएका छन् । सो दुर्घटनामा १२० जनाको मृत्यु भएको छ । त्यस मध्ये चालकको गल्तिबाट २१८ वटा दुर्घटना भएका छन् । ति मध्ये साधनबाट २५ जना, यात्रुको कारण १९ जना र सडकको कारण २० जनाको दुर्घटना भएको सो कार्यक्रममा जानकारी दिईएको थियो ।