दमौली, बैशाख २१
भानु नगरपालिका–४ तिलाहारका ४५ बर्षिय राजु विक विहिबार बिहान उच्च रक्तचाप सम्बन्धी समस्याबाट पीडित भए । उनका आफन्तले तत्कालै वडा नम्बर ५ मा रहेको पुरनडिही नगर अस्पतालमा लगे । तर उक्त सरकारी अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा विरामीलाई नजिकैको नीजि मेडिकल हलमा लगेर उपचार गराए ।
भानु नगरपालिकाले नगर स्तरीय अस्पतालको रुपमा विकास गरेको पुरनडिही अस्पतालमा आकस्मिक सेवा सन्चालन नहुँदा बिरामीहरु मारमा पर्दै आएका छन् । राजु मात्र हैन, अन्य विरामीहरुले पनि सँधै यस्तै समस्या भोग्नु परेको भानु नपा–४ का राजेश पन्थले बताए । उनले आकस्मिक सेवा सन्चालनकोलागि पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको बताए ।
भानु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले आवश्यक जनशक्ति र उपकरण नहुँदा उक्त अस्पतालमा आकस्मिक सेवा सन्चालन गर्न नसकिएको बताए । उक्त अस्पतालमा एक जना एमबिबिएस डाक्टर कार्यरत रहेपनि आकस्मिक सेवा सन्चालन नहुँदा उनी भानु नपा–२ को घरबाट नै १०–५ को कार्यालय समयमा आउने जाने गरेको भट्टराईले बताए ।
उक्त अस्पतालमा ६ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । बर्थिङ सेन्टर पनि सन्चालन गरिएको हुँदा २ जना महिला स्वास्थ्यकर्मी भने अस्पतालकै निवासमा बस्ने गरेका छन् । जनशक्ति र उपकरण भए जुनसुकै बेला आकस्मिक सेवा सन्चालन गर्न सकिने भट्टराईले बताए ।