देवघाट, बैशाख २२
सरकारले दुई वर्ष अघि देशभरका सबै स्थानीय तहमा कम्तीमा ५ शैयाको अस्पताल बनाउने नीति ल्यायो । सोही अनुसार देवघाट गाउँपालिकामा १० शैयाको अस्पताल बनाउने निर्णय भयो । सो अस्पताल निर्माणकोलागि जग्गा आवश्यक पर्ने हुँदा देवघाट गाउँपालिका वडा नम्बर ५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर सो ठाउँमा १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरियो ।
तनहुँ क्षेत्र नम्बर १ का तत्कालिन प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले २०७७ साल मंसिर १५ गते उक्त अस्पतालको शिलान्यास गरे । उक्त आधारभुत अस्पताल निर्माणकोलागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले १० करोड ८५ लाख रुपैयाँ बिनियोजन गर्ने प्रतिबद्धता आएको थियो । अस्पतालको शिलान्यास पछि केही महिना धमाधम निर्माणको काम समेत भयो । उक्त अस्पतालको पिल्लर र डिपिसीको काम सम्पन्न पनि भयो । तर ६ महिना यता अस्पताल निर्माण कार्य ठप्प भएको छ ।
बजेट नआउँदा अस्पताल निर्माणको काम रोकिएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । बजेट नआउँदा निर्माण कम्पनीलाई यस अघि दिनु पर्ने भुक्तानी रोकिएको छ । बजेट बाहेक स्वास्थ्य सेवा विभागले अहिले आएर अस्पताल निर्माण स्थलको जग्गाको विषयमा नै अड्को थापेको छ । गाउँपालिकाको सार्वजानिक जग्गामा अस्पताल निर्माण गरिएपनि अहिले आएर विभागले अस्पतालको नाममा जग्गाधनी प्रमाणपुर्जा खोजेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । ‘मुख्य कुरा बजेटको अभाव नै हो’ सुवेदीले भने ‘जग्गा सम्बन्धि विवाद व्यर्थको हो ।’ सुरुको केही महिना नियमित रुपमा बजेट आईरहेपनि गत वर्षबाट बजेट रोकिएको सुवेदीले बताए ।
देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङले रकमको अभावमा अस्पताल जस्तो संवेदनशिल भवनको निर्माण कार्य रोकिनु ज्यादै दुखद भएको बताए । अस्पताल निर्माणको काम रोकिएपछि देवघाटबासीको आधारभुत स्वास्थ्य सेवाकोलागि चितवनको भरतपुर जानुपर्ने बाध्यताको अन्त्य हुने आशा तत्काल पुरा नहुने गुरुङले बताए ।
सरकारले देवघाट सहित तनहूँका पाँच वटा स्थानीय तहमा अस्पताल निर्माण हुने भएको छ । सबै अस्पतालको सोमबार नै शिलान्यास गरिएको छ । संघीय सरकारले आफ्नै अस्पताल नभएका देशभरका तिन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण गर्ने घोषणा गर्दै एकै दिन शिलान्यास गरेको थियो । देवघाटमा डिपिआर पुरा गरि टेन्डर समेत निकालेर निर्माण कार्य सुरु भएपनि तनहुँका अन्य स्थानीय तहमा भने शिलान्यास पछि अस्पतालको जग खन्ने काम नै भएको छैन ।