देवघाट, जेठ १९
नेकपा एमाले देवघाट गाउँ कमिटिले कानुन बमोजिम गर्नु पर्ने सार्वजानिक सुनुवाई कार्यक्रम समयमै सम्पन्न गर्न देवघाट गाउँपालिकासँग माग गरेको छ । विहिबार देवघाट गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै एमाले देवघाटले यस आर्थिक वर्ष भित्र कम्तीमा एउटा बहृत सार्वजानिक सुनुवाई गर्न र आगामी आर्थिक वर्षमा गाउँसभाद्वारा सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधि पनि निर्माण गर्न ध्यानाकर्षण गराईएको छ ।
गाउँपालिका तथा वडा कार्यालयहरुको विचमा नागरिकको सम्बन्ध र सम्बाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न तथा नागरिकको प्रतक्ष्य सहभागिताको माध्यमबाट गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेबारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाईको आयोजना गर्नु पर्ने गर्ने एमालेले देवघाटले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
‘गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेबार संस्कृतको विकास गर्न यो सार्वजानिक सुनुवाईको आयोजना गरिनु पर्ने र स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले एक आर्थिक वर्षमा कम्तीमा तिन पटक सार्वजानिक सुनुवाई गर्नु गर्ने जिम्मेबारी स्थानीय तहलाई तोकेको छ ।’ ध्यनाकर्षणपत्रमा जनाईएको छ ।
तर देवघाट गाउँपालिकाले हालसम्म एक पटक पनि सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरेको जानकारीमा नआएको भन्दै जसको कारण गाउँपालिकाले प्रवाह गरेका सेवा, सुविधा र कार्यसम्पादनको बारेमा नागरिकले जानकारी पाउने र आफ्ना जिज्ञासाहरु राख्नबाट बन्चित हुँदै आएको जनाईएको छ । ‘सार्वजानिक सुनुवाई सुशासनको एउटा महत्वपुर्ण पक्ष पनि हो । गाउँपालिकाबाट सम्पादन भएका कामहरुलाई नागरिक स्तरमा जानकारी गराउने र नागरिकको सुझाव र सल्लाह ग्रहण गर्ने यो उपुयुक्त अवसर पनि भएको हुँदा गाउँपालिकालाई पारदर्शी रुपमा सन्चालन गर्न यस आर्थिक वर्षमा कम्तीमा एक पटक सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गर्न नेकपा एमाले देवघाट गाउँकमिटिको तर्फबाट देवघाट गाउँपालिकालाई अनुरोध गर्दछौं ।’ नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
न्यौपानेले उक्त ध्यानाकर्षण पत्र बुझाउन गाउँपालिकामा जाँदा २ घण्टासम्म पर्खदा समेत जिम्मेबार व्यक्ति नभेटेपछि दर्ता शाखामा लगेर दर्ता गरेर छोडेको बताए ।