दमौली, असार ३
फर्जी मेडिकल रिपोर्ट नबाइदिदा स्वास्थ्यकर्मीमाथी आक्रमणको प्रयास भएको छ । व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकिमा कार्यरत जनस्वास्थ्य निरीक्षक खुशीराम क्षेत्रीको घरमा सोही वडाको मोहरियाटारा रहेको रहेको घरमा शनिबार राती आक्रमण भएको छ ।



व्यास नपा–९ गजुरे स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरिक्षक खुसीराम क्षेत्रीलाई स्थानीय ३० वर्षिय सन्तोष थापाले आफु विरामी भएको भनि फर्जी मेडिकल रिपोर्ट बनाउन दवाव दिएकोमा स्वास्थ्यचौकीका प्रमुख क्षेत्रीले अस्विकार गरेकोमा थापाको नेतृत्वमा शनिबार राती जनस्वास्थ्य निरिक्षक क्षेत्रीको घरमा आक्रमण भएको हो । सो घटनाको विरोधमा नेपाल स्वास्थ्यकर्मी संघ व्यास नगर समितिले आईतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई स्वास्थ्यकर्मीको जिउधनको सुरक्षा गर्न माग गरेको छ ।
समितिका संयोजक लक्ष्मी गुरुङले प्रजिअ छविलाल रिजाललाई भेटी बुझाएको ज्ञापनपत्रमा व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकी प्रमुख खुशिराम क्षेत्रीज्यूको निजि निवास व्यास नपा–९, मोहोरियाटारमा सोही ठाउँका ३० वर्षिय सन्तोष थापा लगायतका केहि व्यक्तिहरुले मादक पदार्थ सेवन गरि ज्यान लिने धम्की सहित रातको करिब १० बजे समयमा ढुङगा, मुढा र वियरको बोतलको प्रयोग गरि सांघातिक आक्रमण गरेको प्रति गम्भिर ध्यानाकार्षण भएको जनाईएको छ ।

एउटा सच्चा राष्ट्रसेवक कर्मचारीलाई अवैध, जुन कानुनत् बनाउनै नमिल्ने फर्जि मेडिकल रिपोर्ट बनाउन दबाब सिर्जना गर्ने र सो कार्य गर्न अस्विकार गर्दा यस्ता किसिमका अमानविय, निन्दनिय र जघन्य किसिमका अपराध घटाउने प्रकृतिका कार्य गर्नेहरुलाई समाजमा दुर्गन्ध फैलाउन नदिन, कर्मचारीको जिउधनको रक्षा गर्न साथै विधिको शासन पालना गराउन यस घटनामा संलग्न रहेका सम्पुर्ण व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाहीको माग गरिएको छ ।
पीडित जनस्वास्थ्य निरिक्षक क्षेत्रीले पनि फर्जी मेडिकल रिपोर्ट नबनाइदिदा आफुमाथी आक्रमणको प्रयास भएको क्षेत्रीले बताए । भारतको उडिसा पुलिसमा कार्यरत थापाले लामो समय घरमा बसेको कारणले बिरामी भएको मेडिकल रिपोर्ट बनाइदिन स्वास्थ्य चौकीमा आएर आग्रह गरेका थिए । आफले यस्तो रिर्पाेट बनाउन मिल्दैन भनेपछि थापाले धम्की दिएको क्षेत्रीले बताए । आरोपी थापालाई आईतबार बिहान २ बजे प्रहरीले पक्राउ गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ रिजालले आरोपीलाई नियन्त्रणमा लिइसकेकाले सत्यतथ्य बुझेर थप कारबाही गरिने बताए ।












