दमौली, असार १०
तनहुँको सबैभन्दा पुरानो नगरपालिका व्यास नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि १ अरब ५९ करोड ३१ लाख १ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गरेको छ । आईतबार आयोजित स्थापनाकालदेखीको ३९ औं र राज्य पुनसंरचना पछिको १३ औं नगरसभामा नगर उपप्रमुख इन्दिरा दरैले १ अरब ५९ करोड ३१ लाख १ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गरेकि थिईन् ।
व्यास नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को कुल बजेट १ अरब ४५ करोड ५ लाख ९१ हजार ९ सय १३ चालु आर्थिक वर्ष २०७९÷८० को बजेट १ अरब ७१ करोड ४७ लाख ५४ हजार रुपैया रहेको थियो । व्यास नगरपालिकाले गत वर्ष भन्दा १२ करोड कमको बजेट प्रस्तुत गरेको छ ।
नगर सभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले २३२ बुदाँको नीति कार्यक्रम पेश गरेका थिए । व्यास नगरपालिकाले पुर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भुमि व्यवस्थापन, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुँद, सुचना तथा सन्चार, आदिवासी जनजाती, दलित उत्थान, अपाङ्गता, जेष्ठ नागरिक, सुरक्षित बैदेशिक रोजगारी र सुशासन तथा दक्ष जनशक्तिलाई मुख्य बुँदामा बर्गिकरण गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
उक्त नीति तथा कार्यक्रमका सम्बन्धमा सभाका सदस्यहरु सरोज भण्डारी, रनसिंह नेपाली, विज्ञान कैनि, जगतबहादुर क्षेत्री, यामु गुरुङ, रामप्रसाद मिश्र, सुरेश वाग्ले, चेत बहादुर दरै, सुन्दर वाग्ले, मणिजंग बस्नेत, दधिराज घिमिरे । हर्क बहादुर कार्कीले सुझावहरु राखेका थिए । सो छलफल पछि सभासदहरुको जिज्ञासामा नगर प्रमुख न्यौपानेले स्पष्टिकरण दिदै स्वीकृतिका लागि प्रस्ताव पेस गरेकोमा नगरसभाले सर्वसम्मत पारित गरेको थियो ।
सभामा व्यास नगरपालिका विधायन समितिका संयोजक खेमराज पोख्रेलले व्यास नगरपालिका विज्ञापन कर (नियमित गर्ने) विधेयक पेश गरेका थिए । नगरसभाको अर्काे बैठक असार २५ गते बस्ने भएको छ ।