दमौली, असार १७
तनहुँको जनसंख्या ३ लाख २१ हजार १५३ रहेको छ । जनगणना २०७८ का अनुसार तनहुँमा १ लाख ५० हजार ९४ पुरुष र १ लाख ७१ हजार ५९ महिला गरि ३ लाख २१ हजार १५३ जनसंख्या रहेको छ । राष्ट्रिय तथ्यांक विभागले आईतबार दमौलीमा आयोजना गरेको राष्ट्रिय जनगणनाको नजिता अनुसार तनहुँमा पुरुषको भन्दा महिलाको संख्या २० हजार ९६५ बढि रहेको छ । तनहुँका ८८ हजार ५८३ घर परिवारमा जनता बसोबास गर्छन् । तथ्यांका अनुसार तनहुँमा २०६८ भन्दा २०७८ मा २१३५ जनसंख्या कमी देखिएको छ ।
तथ्यांकका अनुसार तनहुँको सबैभन्दा बढि व्यास नगरपालिकामा ७८९३९ जनसंख्या रहेको छ । त्यसपछि क्रमशः शुक्लागन्डकी नगरपालिकामा ५५६२०, भानु नगरपालिकामा ४२७९४, भिमाद नगरपालिकामा २९२४८, म्याग्दे गाउँपालिकामा २३५७८, आवुँखैरेनी गाउँपालिकामा २२२५२, बन्दिपुरमा १८५३२, ऋषिङमा १७९१८, देवघाटमा १४५४८ र घिरिङमा १४३३४ जनसंख्या रहेको छ ।
तथ्यांकका अनुसार तनहुँ जिल्लामा ६७ वटा जातीका बासिन्दा बसोबास गर्छन् । त्यसैगरि हिन्दु धर्मावलम्बीको संख्या ८४ प्रतिशत, बौद्ध धर्म मान्नेको संख्या ९.७३ प्रतिशत, क्रिष्चियन धर्म मान्नेको संख्या २.३ प्रतिशत तथा इस्लाम धर्म मान्नेको संख्या १.५६ प्रतिशत रहेको छ । तनहुँका पुरुष ३३३३९ र महिला ४०३३ गरि ३७३७२ जना बिदेशमा कार्यरत रहेका छन् । तनहुँका ८६ प्रतिशत जनताले खानेपानीको मुख्य श्रोतको रुपमा धाराको पानी उपयोग गर्छन् भने ९९ प्रतिशत जनताको पहुँमा सौचालयको सुविधा रहेको छ ।
त्यसैगरि ५३.८ प्रशितशतले खाना पकाउनकोलागि एलपि ग्याँसको प्रयोग गर्छन् भने ४४.६ प्रतिशतले दाउराको प्रयोग गर्छन् । त्यसैगरि तनहुँका ७८ प्रतिशत जनताले स्मार्ट फोनको प्रयोग गछ्रन् भने ४६.९ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । त्यसैगरि ३३.२ प्रतिशतले समाचारको लागि रेडियो सुन्छन् भने ५७.८ प्रतिशतले टेलिभिजन हेर्ने गरेका छन् । तनहुँका २.९ प्रतिशतसँग कार जिप तथा भ्यान छ भने २२.३ प्रतिशतले मोटरसाईकलको प्रयोग गर्ने गरेको तथ्यांक कार्यालय पोखराका निर्देशक जगु बस्यालले जानकारी दिए ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले जनगणनाको तथ्यांकको कारण राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने बताए ।