दमौली, असार १९
राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ को घुमाउने जोड्ने त्रिशूली नदीमाथिको मोटरेबल पुल यथाशिघ्र समयमा सम्पन्न गर्नु पर्ने माग गर्नु भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद न्यौपानेले उक्त पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायसमक्ष माग गर्नु भएको हो ।



सांसद न्यौपानेले पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी मृत सन्जिवनीको लापरवाहीले उक्त पुल अलपत्र अवस्थामा रहेको भन्दै उक्त पुलको निर्माण कार्य सुचारु गराउन र बुद्धसिंह मार्गमा कालोपत्रे गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । बैठकमा सांसद न्यौपानेले उक्त पुल निर्माण र बुद्धसिंह मार्ग कालोपत्रे गर्न आवश्यक बजेट विनियोजन गर्न सांसद न्यौपानेले सरकार समक्ष माग गर्नु भएको हो ।

विसं २०७१ असारमा पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । उक्त पुल समयमै बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो ।
मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे–आँबुखैरेनी नभई बुद्धसिं मार्ग भएर उक्त पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे ।
नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । घुमाउनेको पुल निर्माण सम्पन्न गर्नेतर्फ सरोकारवालाको ध्यान पुगेको छैन । उक्त पुललाई समयमै पूरा गर्न सकेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा उक्त मार्ग विकास हुने थियो । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन सकेको छैन ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहूँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो । उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।












