देवघाट, साउन १५
तनहूँको देवघाट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा २० वटा योजना सम्पन्न भएको छ । उक्त योजना अन्तर्गत बेरोजगार सुचिमा सुचिकृत ५६ जनालाई ४७०५ दिनको रोजगारी दिईएको गाउँपालिकाका रोजगार संयोजक कर्ण गुरुङले बताए । उक्त कार्यक्रम अन्तर्गत २८ लाख ९८ हजार ३९० रुपैयाँ श्रमिकको खातामा भुक्तानी गरिएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा मानुङदेखी घन्टाचुली सम्म पर्यटकीय पदमार्ग निर्माण, वर्षाखोला तटबन्धन, आँपखोल्सादेखी साजगैरासम्म नाली निर्माण, ठुलो खोला सानो सिंचाई आयोजना र बसेनीटार सामुदायिक भवन निर्माण र मर्मत कार्यकोलागि १६२२ दिन रोजगारी प्रदान गरिएको थियो ।
त्यस्तै वडा नम्बर २ मा अमिलि कुलो मर्मत तथा दरौ खोला कुलो स्वाव निर्माण, सिलाजित कुलो सिचाई मर्मत, सिद्ध खेत कुलो मर्मत, कराँदिप होमस्टे सिंढी मार्ग निर्माण, तालबारी जमुनास्वारा ग्याविन भर्ने, नालीकाट्ने काम, जानकी आ.वि सौचालय निर्माण, खाल्टे खानेपानी मर्मत, बेसारदी गोरेटोबाटो मर्मतको कार्यकोलागि ९२९ दिन रोजगारी प्रदान गरिएको थियो ।
त्यसैगरि वडा नम्बर ३ मा भुषालगैरा फिदिमस्वाँरा ग्याविन जाली भर्ने काम, भृकुटी मार्ग बेसारडाँडा ग्याविनजाली भर्ने काम, छिपछिपे स्वास्थ्यचौकी तारजाली, ग्राउन्ड विस्तार एवं कटिङकोलागि कुल १०९९ दिन रोजगारी प्रदान गरिएको थियो ।
त्यसैगरि वडा नम्बर ४ मा १७ किलो झोलुङ्गेपुलदेखी काफलडाँडा स्कुलसम्म जोड्ने पदमार्ग निर्माण र काफलडाँडा खानेपानी मर्मतकोलागि कुल ५५५ दिन रोजगारी उपलब्ध गराईएको थियो ।
त्यस्तै वडा नम्बर ५ मा मदन आश्रीत झोलुङ्गेपुल तल ग्याविन भर्ने काम र मदन आश्रीत झोलुङ्गेपुल माथि त्रिशुली नदीले गरेको भु क्षय रोकथाम गर्ने कामको लागि ४९९ दिन रोजगारी उपलब्ध गराईएको थियो ।
गाउँपालिकाको प्रधानमन्त्री रोजगार सेवा केन्द्रले गत आर्थिक वर्षमा फागुन र चैत महिनामा श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम लागु गरेको गुरुङले जनाए । त्यसैगरि चालु आर्थिक वर्षकोलागि गाउँपालिकाभर २५८ जना बेरोजगार व्यक्तिहरुको सुचिकृत गरि सिस्टममा इन्ट्रि गरिएको छ । देवघाटले गत आर्थिक वर्षमा बैदेशिक रोजगारीमा जाने ४ जना व्यक्तिलाई श्रम स्विकृतीकोलागि सहजिकरण गरि श्रम स्विकृतीको स्टिकर प्रदान गरिएको गुरुङले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका बेरोजगारीमा सुचिकृत भएका व्यक्तिहरुले रोजगारी पाएको र गाउँपालिकाको विकास निर्माणको काममा पनि सहज भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उक्त कार्यक्रमले नेपालको संविधानकोे धारा ३३ मा रहेको मौलिक हक अन्तर्गतको रोजगारीको हकको कार्यान्वयन भएको अध्यक्ष थापाले बताए ।