दमौली, साउन २२
तनहुँमा डेंगी संक्रमणबाट बच्न ‘लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान सन्चालन गरिने भएको छ । वर्षायामसँगै देशैभर डेंगीको सङ्क्रमण फैलिन थालेपछि लार्भा खोजौं र नष्ट गरौं अभियान चलाईएको हो ।
तनहुँमा पछिल्लो समय डेंगीको ज्वरोको प्रकोपका साथै बिरामीको संख्या पनि प्रतिदिन बढ्दै गएको छ । लामखुट्टेले फुल पार्ने स्थान ‘खोजौँ र नष्ट गरौँ’ नारासहित जिल्लाका सबै स्थानीय तहमा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए । डेंगीको लक्षण तत्काल थाहा नहुने र धेरै अङ्गप्रत्याङ्गमा असर गरेपछि मात्रै थाहा हुने भएकाले चेतना फैलाउन अभियान सञ्चालन गरिएको अधिकारीले बताए ।
वर्षायाम सुरु भएसँगै लामखुट्टे फैलिने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ । बिहान, दिउँसो राति जुनसुकै बेला झुल टाँगेर सुत्ने, पूरा बाहुला भएका र पूरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउनु पर्ने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।
तनहुँमा पछिल्लो डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगीका ४४ बिरामी फेला परेको तथ्यांक रहेको छ । डेंगीको सङ्क्रमणबाट व्यास नगरपालिकामा कार्यरत इञ्जीनीयर कमलप्रसाद शर्माको निधन भएको थियो । व्यास नपा–१० का शर्माको गत असार १६ गते मृत्यु भएको थियो ।
डेंगी नियन्त्रणकोलागि सचेतना कार्यक्रम प्रभावकारी बनाउन विद्यालयमार्फत गर्दा प्रभावकारी हुने भएकाले विद्यालयमासमेत अभियान सञ्चालन गरिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको सङ्क्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै विद्यालयमा अभियान सञ्चालन गर्ने योजना बनाएको न्यौपानेले बताए ।
देवघाट गाउँपालिकाले पनि लामखुट्टेको टोकाईबाट डेंगी रोगको हुन सक्ने खतरालाई मध्यनजर गर्दै संक्रमणबाट बच्न सजगत अपनाउन गाउँपालिकाबासीलाई अनुरोध गरेको छ । साथै लामखुट्टेको बासस्थान खोजी गरि नष्ट गर्ने अभियानमा सहभागी हुन पनि सम्पुर्ण टोलबासीलाई गाउँपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।
डेंगी रोगबाट बच्न पुरा शरीर ढाकिने गरि कपडा लगाउने, राती सुत्दा झुलभित्र सुत्ने, झ्याल र ढोकामा जाली लगाई बन्द गर्ने, घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान दिने, पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, गाग्री, बाल्टिन, ड्रम आदि छोपेर राख्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।
त्यसैगरि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्नुपर्छ । लामखुट्टेले सफा जमेको पानीमा फुल पार्ने हुनाले लामो समयसम्म एउटै ठाउँमा पानी जम्मा गरेर नराख्ने । पुराना टायर, पानी जम्न सक्ने भाडाँकुँडा, पुराना बट्टा खाल्डो खनी छोप्ने वा नष्ट गर्ने, गमला फुलदानी, एअर कुलर जस्ता पानी जम्ने सामाग्रीको पानी हप्तामा एकपटक नियमित रुपमा सुख्खा हुने गरि सफा गर्ने वा प्रत्येक हप्ता एकदुई चम्चा मटितेल हालिदिने गर्नु पर्छ ।
कुनै स्थानमा खानेपानीको पाईप तथा ढलहरु चुहिने भएमा तुरुन्त मर्मतको व्यवस्था गर्ने, सुँगुर, बंगुर, हाँस तथा गाईभैंसी व्यवस्थित तरिकाबाट घरदेखी टाढा राखेर पाल्ने गर्नुपर्छ । डेंगी संक्रमण भएको एडिज जातको लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । यसको मुख्य लक्षणहरु उच्च ज्वरो आउने, शरिर दुख्ने आदि हुन् । यस्तो समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन चिकित्सकहरुले सुझाव दिएका छन् ।