पौडेल भन्छन्ः आन्दोलन तुहाउने षड्यन्त्र
दमौली, साउन ३१



व्यास नपा–३ मा निर्माण भएको जिल्ला सभाहललाई पुर्ण अपाङ्गता मैत्री बनाउने सहमती भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पहलमा बुधबार जिल्ला समन्वय समितिका प्रमुख, भवन निर्माण डिभिजन विभाग विभाग संघीय आयोजना कार्यालय पोखराका कार्यालय प्रमुख तथा अपाङ्गता भएका व्यक्तिहरु सहितको उपस्थितीमा भएको बैठकमा सभागृहका संरचनाहरुलाई अपाङ्गता मैत्री बनाउने सम्बन्धमा छलफल भएको थियो ।
सभागृहमा हाल निर्माण भईसकेको संरचनाहरु मध्ये कम लगातबाट नै सुधार गर्न सकिने टेक टायल, ¥याम्पको वरपर रेलिङ, सौचालय लगायतका संरचनालाई अपाङ्गता मैत्री बनाउन आयोजनाले अबिलम्ब काम गर्ने निर्णय भएको थियो ।
साथै भवनको सबै कोठालाई अधिकतम पहुँचयुक्त बनाउनको लागि लिफ्टको आवश्यकता देखिएको हुँदा त्यसकोलागि आयोजनाले थप बजेट माग गर्ने निर्णय भएको रिसेडका पुर्व महासचिव दामोदर रेग्मीले बताए ।
यता जिल्ला सभाहल अपाङ्गतामैत्री नभएको भन्दै आन्दोलनको नेतृत्व गरेका रिसेडका पुर्व अध्यक्ष मदन पौडेलले उक्त निर्णयलाई अपाङ्गता भएका व्यक्तिहरुले भदौ १ गतेदेखी गर्ने आन्दोलन तुहाउने षड्यन्त्र भएको बताएका छन् । सरोकारवालाहरुसँग कुनै छलफल नै नगरि एकतर्फी रुपमा बैठक बसेर निर्णय गर्नु भनेको अपाङ्गता भएका व्यक्तिहरुले गर्ने भनेको आन्दोलन तुहाउने षड्यन्त्र भएको पौडेलले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ गन्डकी प्रदेश, सह्रदिय मन्च तनहुँ लगायतका संघ संस्थाले जिल्ला सभाहल अपाङ्गतामैत्री नभएको भन्दै उक्त हललाई अपाङ्गता मैत्री बनाउन दवाव दिने उद्देश्यले भदौ १ गते आन्दोलन गर्ने घोषणा गरेका छन् । सोही आन्दोलनलाई तुहाउनकोलागि सरोकार नै नराख्ने केही व्यक्तिहरुको उपस्थितीमा बैठक राखी सभाहल अपाङ्गतामैत्री बनाउने निर्णय गरिएको पौडेलले आरोप लगाए ।
पौडेलले भदौ १ गते दिउँसो पत्रकार सम्मेलन राखी आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए । जिल्ला सभाहललाई अपाङ्गतामैत्री बनाउने अभियानकोलागि पौडेलको संयोजकत्वमा जिल्ला संघर्ष समिति गठन गरिएको छ । उक्त समितिले सभाहललाई अपाङ्गतामैत्री नबनाएसम्म सो भवनको उद्घाटन कार्यक्रम हुन नदिने बताएको छ ।












