व्यास नगरपालिकाद्वारा कृषकको समस्या समाधान गर्न समिति गठन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १३

व्यास नगरपालिकाले कृषकको समस्या समाधानको लागि पहल कदमी गरेको छ । कृषिलाई पहिलो प्राथमिकता दिँदै नगरपालिकाले ऐन नै निर्माण गरी समिति समेत गठन गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोकत्वमा व्यास नगर कृषि व्यवसाय प्रवद्धन समित गठन गरिएको हो ।

समितिले किसानको गुनासो सुन्ने त्यसको आधारमा माग पुरा गर्न मंगलबार अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा लागत मूल्य नउठ्दा पेशाबाट पलायन हुने क्रम बढेको गुनासो कृषकले गरेका छन् । व्यास नगरपालिका–११ सेरा निवासी कृषक रमेशप्रसाद आचार्यले नाफा नहुने भएकोले कृषि छाड्नु परेकोे बताए ।

सरकारले ६५ रुपियाँ प्रतिलिटर गाईको दुधको मूल्य तोकिएको तर यहाँका कृषकको लागत मूल्य नै ७५ रुपियाँ परेको गुनासो आचार्यले गरे । आचार्यले भने, ‘नाफा नहुने भएपछि कृषकलाई बाध्य भएर पेशा छोड्नु परेको छ ।’ आफ्नै जमिन हुनेले जेनेतन लागत मूल्य उठाएपनि भाडामा जमिन लिएर कृषि पेशा गर्नेले लागत मूल्य उठाउन पनि धौ धौ परेको आचार्यको भनाई थियो ।

व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङका कृषक इश्वर पन्थले उत्पादनको बजारीकरण नहुँदा कृषक समस्या परेको बताए । बजारीकरण, भण्डारण, खर्च व्यवस्थापनको शिक्षा र तालिम हुनुपर्ने माग राख्नुभयो । कृषकको परिचयपत्र र कृषि व्यवसायको पहिचान तथा अभिलेखिकरण गरिनु पर्ने माग समेत कृषक पन्थ राखे ।

कृषि कर्जाको विशेष व्यवस्थापन लागि विशेष, उत्पादनको आधारमा अधिकतम कृषि अनुदानको व्यवस्था हुनु पर्ने बताउनुभयो । व्यास नगरपालिका–११ फराकचौरकी गाई पालक कृषक भगवती जिसीले कृषकलाई अनुभवको कमि हुँदा समस्या हुने गरेको बताए । विना जानकारी काम गर्दा सफलता हुँदैन कृषकहरु कुहिरोको काग जस्ता भएकाले प्राविधिक लगायतका ज्ञान दिन आवश्यक रहेको उनले बताईन् । व्यवसायिक फम सञ्चालन गर्ने कृषकलाई घरदैलोमा नै सेवा दिनु पर्ने माग जिसीले गरिन् । सो कार्यक्रममा बाँदरका समस्याको पनि समाधान हुन नसक्दा कृषकलाई मर्का परेको गुनासो गरिएको थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताए । कृषकको समस्या समाधानको लागि नगरपालिकामा कृषकको सहभागिता सहितको कृषि व्यवसाय प्रवद्र्धन समिति गठन गरिएको जानकारी दिए । वडा स्तरमा कृषकलाई मद्धत पु¥याउन १४ वटै वडामा वडा समिति गठन गरिएको प्रमुख न्यौपानेले बताए । कृषकले भोग्नु परेको समस्या र कृषकका चाहानाको बारेमा जानकारी लिन समिति मार्फत अन्तरक्रिया गरिएको नगर प्रमुख न्यौपानेले बताए । साथै नगर प्रमुख न्यौपाने, कृषि तथा पशु सम्बन्धि प्राविधिकलाई सोही क्षेत्रमा मात्रै काममा लगाउने र प्रत्येक वडामा प्राविधिक सुविधा पु¥याईने उनले बताए ।

कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, प्रवक्ता जीवन गुरुङ लगायतले व्यास नगरपालिकाका कृषकका समस्या समाधानको लागि कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ लगायतले कृषि प्रधान देश भएपनि परनिर्भरता बढ्दै गएकोले सबै मिलेर समस्या समधानको लागि एक जुट हुुन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू