आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, भदौ २१

हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ ।

स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ ।

गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम सुरु गरेको थियो ।

ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पृथ्वी राजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटक सवारी साधन रोकेर पुग्ने गरेका छन् । गाउँपालिकाले ढुङ्गामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय मनोजकुमार श्रेष्ठले बताए ।

स्थानीय विजय गुरुङले राजमार्ग नजिकै भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए ।

सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, ‘गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्यो ।’

ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाइएको हो । पृथ्वी राजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको हो ।

यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानको भनाइ छ । ऐनापहरामा पार्क निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

‘ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ’, चुमानले भने, ‘सोहीबमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’

पृथ्वी राजमार्गबाट एकछिनमै पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौं, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको छ ।

यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु दश करोड बजेट आवश्यक पर्छ । डीपीआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल