देवघाट, भदौ २२
निजामती सेवा दिवस–२०८० को अवसरमा विहिबार देवघाटमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । स्थानीय तहका केही कर्मचारीले उक्त दिवस बहिष्कार गरेपनि गाउँपालिकाको आयोजनामा सभाहलमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।



सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर लगायतले निजामती सेवा दिवसको महत्वको बारेमा मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने गाउँपालिकाका तिन जना कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा धर्मार्थ अस्पतालमा कार्यारत अनमी पुष्पादेवी बराम, सव– इन्जिनियर श्यामसुन्दर सुवेदी र धर्मार्थ अस्पतालको कार्यालय सहयोगी पुनम थापा रहेका छन् । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सम्मान गरेका थिए ।
त्यस्तै गाउँपालिकाका भित्रका दुई वटा उपभोक्ता समितिलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा वडा नम्बर १ को पशुपन्छी विकास केन्द्रका अध्यक्ष देव बहादुर गुरूङ र वडा नम्बर २ को करादिप टोल विकास संस्थाका अध्यक्ष गोम बहादुर मगर रहेका छन् ।
त्यसैगरि गाउँपालिकामा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई पनि सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पहिलो सेवाग्राही देवघाट–५ निवासी राजु लामालाई खादा ओढाएर सम्मान गरेका थिए ।