दमौली, भदौ २५
व्यास नगरपालिकाका बासिन्दा र राजनीतिक दलहरुको विरोधको बाबजुद व्यास नगरपालिकाले बहुउद्देश्यिय भवनको निर्माण कार्य अगाडी बढाएको छ । हाल भईरहेको नगपालिकाको भवनको सबै कोठा समेत उपयोगमा नआएको र सटरहरु समेत भाडामा नलागेको अवस्थामा नगरपालिकाले करोडौं रुपैयाँ ऋण लिएर अर्काे बहुउद्देश्यिय भवन बनाउन लागेको हो ।
हाल प्रयोग भईरहेको नगरपालिकाको पुरानो भवन भत्काएर पृथ्वीराजमार्ग र सफासडक क्षेत्रलाई मोहोडा बनाएर चार तल्लाको व्यवसायिक भवन निर्माण गर्न लागेको हो । केही दिन अघि सम्पन्न नगर कार्यपालिकाको बैठकले उक्त पुरानो भवन भत्काउने निर्णय गरिसकेको छ ।
नगरपालिकाको मातहातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाँउमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा व्यवसायिक बहूउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो । नगर विकास कोष र व्यास नगरपालिकाको संयुक्त लगानीमा उक्त भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणकोलागि नगर विकास कोषबाट ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहेन छ । नगरपालिकाले २० वर्षको लागि नगर विकास कोषबाट ७० प्रतिशत लगानी ऋण लिएको छ ।
उक्त भवनको ऋण लिए वापत नगरपालिकाले २० बर्षसम्म नगर विकास कोषलाई बार्षिक ५ करोड भन्दा बढि व्याज मात्रै बुझाउनु पर्छ । केही वर्ष अघि निर्माण भएको भवन पनि नगर विकास कोषबाट नै ऋण लिएर बनाईएको हो । उक्त भवनको व्याज पनि बार्षिक ३ कारोड भन्दा बढि पर्छ । यसरी नगरपालिकाले नगरबासीबाट उठाएको कर बार्षिक ८ करोड भन्दा बढि भवनको व्याज मात्रै तिर्नु पर्ने हुन्छ ।
उक्त भवनको भुइँ तलामा ११ वटा पसल सटर २ वटा भञ्याङ, १ शौालय र ३ वटा प्रवेशद्वार रहने छ । पहिलो तल्लामा १२ वटा पसल कबल, २÷२ वटा भ¥याङ, १ शौचालय रहने छ भने दोस्रो तल्ला र तेस्रो तल्लामा खुल्ला भाग बनाई क्षेत्रफलको हिसाबले कार्यालय प्रयोजनलाई दिने गरि निर्माण गरिने भएको छ । साथै उक्त भवनमा लिफट् र एस्कालेटरको पनि सुविधा राखिने शहरी विकास शाखाा प्रमुख इन्जिनियर राजु पौडेलले बताए ।
नगरपालिकाको दिर्घकालिन आयस्रोत वृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको ३१ करोडको लगानीमा व्यवसायिक निर्माण गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । भवन निर्माण सकिँदासम्म त्यसको लागत ३५ करोड माथि पुग्ने निश्चित छ । जति लागत थपियो, नगरपालिकालाई ऋण पनि त्यती नै धेरै लाग्ने देखिन्छ ।
पुरानो भवन भत्काउनको लागि उक्त भवनमा रहेका शाखाहरु सारिएको छ । नगरप्रमुख न्यौपानेले पहिलो कार्यकालमा सम्पन्न गरेको बहुउद्देश्यीय भवनको माथिल्लो भागमा शाखाहरु सारिएको छ । पुरानो भवनमा रहेका शिक्षा तथा सामाजिक शाखा, स्वास्थ्य तथा जनंसख्या शाखा, पशु तथा कृषि शाखा र सरसफाई शाखा माथिल्लो भवनमा सार्न सुरु गरिएको छ ।
यता नगरवासीले भने चर्काे व्याजमा ऋण लिएर नगरपालिकाले नयाँ भवन बनाउनुको कुनै औचित्य नै नभएको बताएका छन् । हाल भईरहेकै भवनको सबै सटरहरु उपयोगमा नआईरहेको अवस्थामा फेरी त्यो भन्दा बढि ठुलो भवन किन आवश्यक प¥यो भनेर नगरबासीले प्रश्न गरेका छन् ।
संघियताले शहर बजारहरु सबै स्थानीय पालिकामा केन्द्रित भईरहँदा व्यासले करोडौं रुपैयाँ ऋण लिएर भवन बनाउनुको कुनै पनि हिसाबमा औचित्यपुर्ण नहुने नेकपा एमालेका जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारीले बताए । नगरबासीले गास काटेर बुझाएको करलाई जनताको हितमा र विकास निर्माण तथा सामाजिक काममा लगाउनु पर्नेमा आवश्यक नै नभएको भवनमा लगाउनु नगरबासीहरुको हित विपरित हुने अधिकारीले बताए । कानुनको निर्माण गर्र्ने स्थानीय तहले व्यापारीले झैं घर बनाएर भाडामा लगाउने कार्य उचित नहुने अधिकारीले बताए ।
यसैगरि तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठले नगरपालिकाले नयाँ भवन बनाउनुको कुनै आवश्यकता पनि छैन र औचित्यपुर्ण पनि नभएको बताए । नगरपालिका घर बनाएर घर भाडामा लिएर आम्दानी गर्ने संस्था पनि हैन भन्दै श्रेष्ठले नगरवासीको हितमा कानुन र नीति नियम बनाएर काम गर्नु पर्नेमा व्यापारीक संस्थाजस्तो घर बनाउँदै भाडामा लगाउँदै गरेको श्रेष्ठले आरोप लगाए ।
अहिले नगरपालिकाको भवनमा ३ वटा बैंकको शाखा कार्यालय रहेको भन्दै श्रेष्ठले स्थानीय व्यापारीको घरमा बसेका बैंकहरुलाई नगरपालिकामा कार्यालय राख्न दवाव दिएर स्थानीय बजारबासीको घर खाली गराउने नीति अनुरुप यो काम भईरहेको श्रेष्ठले आरोप लगाए । घर बनाएर भाडामा लगाउने भनेको नीजि श्रोतले हो भन्दै श्रेष्ठले नीजि श्रोतले घर भाडामा लगाएवापत नगरपालिकालाई कर तिर्ने बताए ।
कर प्रणालीलाई व्यवस्थित गराउने हो भने भवनको भाडा भन्दा पनि धेरै आम्दानी हुने श्रेष्ठको दावी छ । घाटाको बजेट पेश गरेको नगरपालिकाले अव यही भवनको निहुँमा जनतालाई अनावश्यक र चर्काे कर लाद्ने श्रेष्ठले बताए । पुरानो भवन भत्काउने नै हो भने त्यहाँ बृद्धबृद्धाहरुकोलागि आकर्षक हरियाली पार्क बनाउनु पर्ने श्रेष्ठले बताए ।