दमौली, भदौ २५
व्यास नगरपालिका वडा नम्बर ३ ले वडा कार्यालय भवन निर्माणको लागि जग्गा खोज्ने प्रक्रिया अगाडी बढाएको छ । नगरपालिकाको पुरानो भवनमा रहदै आएको वडा कार्यालय उक्त ठाँउबाट अन्त्रय सर्नु पर्ने भएपछि आफनै भवन निर्माणको लागि जग्गा खोज्ने प्रक्रियामा रहेको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए ।



नगरपालिकाले पुरानो भवन भत्काएर व्यवसायिक कम्प्लेक्स बनाउन लागेपछि वडा कार्यालयले उक्त ठाँउबाट सर्ने भएको हो । वडा सदस्य घिमिरेको अनुसार तत्कालको लागि भाडामा घर लिएर वडा कार्यालय सञ्चालन गरिने भएको छ । उनले भने, ‘तत्काल भवन निर्माण हुने सम्भावना छैन, अहिलेलाई हामीले घर भाडामा लिएर वडा कार्यालय सार्ने छौ ।’ उनले भने, ‘नगरपालिकाको प्राविधिकहरु सँग छलफल गदै हामीले जग्गा खोज्दै छौं ।’
उनका अनुसार वडा कार्यालयको लागि तत्काललाई भाडामा घर खोज्ने क्रम जारी रहेको छ । अर्को महिना देखि नयाँ ठाँउबाट वडा कार्यालयले सेवा प्रदान गर्ने उनले बताए ।
भवन निर्माणको लागि जग्गाको खोजी बिसघरे जाने बाटोमा गरिएको छ । वडा कार्यालयले २०७४ साल देखिनै भवनको समस्या झेल्दै आएको छ । २०७४ सालमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गदै आएको वडा कार्यालय पछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो । अहिले उक्त भवन भत्काउने भएपछि अन्त्रय सर्ने भएको हो ।












