तनहुँमा डेंगुबाट मृत्यु हुनेको संख्या तिन पुग्यो

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताए । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ ।

दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले जानकारी दिए ।

शाखा प्रमुख सोतीले भने, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।”

नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनले भने, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।”

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरे। डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता