दमौली, असोज १०
तनहुँ सदरमुकाम दमौली र यस वरपर डेंगु रोगको प्रकोप बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सन्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा मंगलबार बसेको सर्वपक्षीय बैठकले डेंगु नियन्त्रणकोलागि सरकारी अस्पताल, स्वास्थ्य कार्यालय र व्यास नगरपालिकाको सहकार्यमा खोज र नष्ट गर अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।



प्रकोप नियन्त्रणकालागि विभिन्न प्रकारका चेतनामुलक सन्देशहरु प्रवाह गर्ने, प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी, नागरिक अगुवा, टोल विकास संस्था, आमा समुह, युवा क्लव, महिला स्वास्थ्य स्वयंसेविका, बाल सन्जाल, लगायतका संस्थाहरु मार्फत व्यापक जनपरिचालन गरि लामखुट्टेको टोकाईबाट जोगिने उपायहरु अपनाउन तथा सर्वसाधरणलाई सजग गराउने र लामखुट्टेको बासस्थानको खोजी र नष्ट गर्ने कार्यक्रम सन्चालन गर्ने निर्णय भएको छ ।

डेंगु परिक्षणकोलागि किट लगायत आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने तथा मौज्जाद जनशक्तिले अभाव भएमा गन्डकी प्रदेश सरकार तथा संघीय सरकारको स्वास्थ्य मन्त्रालय साथै कम प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए । साथै नीजि स्वास्थ्य संस्थाहरुले डेंगु परिक्षण र उपचार गर्दा व्यवसायीक नैतिकताको ख्याल गर्न अनुरोध गर्ने पनि निर्णय भएको छ ।
नीजि स्वास्थ्य संस्थाहरुले डेंगुको परिक्षण र उपचार गर्दा व्यवसायीक नैतिकताको ख्याल नगरेको भन्ने जनगुनासो आएको हुँदा त्यसको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेको संयोजकत्वमा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी, दमौली अस्पतालका मेसु डा. परिवर्तन बराल र व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोती रहेको कार्यदल गठन गर्ने र सो कार्यदलले नियमित रुपमा अनुगमग गर्ने निर्णय पनि भएको छ ।

बैठकमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, सन्चारकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न स्वास्थ्य सम्बन्धि संस्थाका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका विशेषज्ञ चिकित्सक तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।












