काठमाडौं, असोज २७
प्रेस चौतारी नेपालले पत्रकार महासंघद्वारा गठित ‘शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक’ गरिएको प्रति आपत्ती जनाएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा शनिबार बसेको राजधानीमा उपलब्ध पदाधिकारी र केन्द्रिय सदस्यहरुको आकस्मिक बैठकले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नाममा शुक्रबार जारी विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



‘शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक’ गरिएको भनी दाबी गरिएको नेपाल पत्रकार महासंघका सदस्यहरुको सूची देखेर प्रेस चौतारी नेपाल आश्चर्यचकित भएको छ । व्यावसायिक तथा क्रियाशिल श्रमजीवी पत्रकारहरुलाई पत्रकार महासंघको सदस्यबाट बञ्चित गरेर जारी गरिएको यो सूचीप्रति प्रेस चौतारी नेपाल आपत्ति प्रकट गर्दछ ।’ चौतारीका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा ‘हामीलाई थाहा छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा, श्रमजीवी पत्रकारहरुको पेशागत हितरक्षा, श्रम अधिकारको संरक्षण र व्यावसायिक पत्रकारिताको सम्र्बद्धनमा नेपाल पत्रकार महासंघले बनाएको इतिहास आफैमा गौरवमय छ । गएको सात दशक यता महासंघले अभ्यास गर्दै आएको मुल्य—मान्यता, स्थापित गरेको प्रणाली र लागु गर्दै आएको विधान, नियमावलीको जगमा महासंघ सबैको साझा संगठनको रुपमा स्थापित छ । तर, ती सबै अभ्यास, मुल्य—मान्यता, प्रणाली, विधान नियमावली विपरित वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्य माथिनै प्रश्न उठ्ने गरी कदम चालेको प्रेस चौतारीको ठहर छ । महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको संगठन नभई कुनै अमूक राजनीतिक दल र समूहको भातृ संगठनको रुपमा बदल्ने प्रयास गरिनु बिडम्बनापूर्ण छ । यो अग्रजहरुको कष्टसाध्य संघर्ष, योगदान र बलिदानबाट स्थापित आम नागरिकहरुको पनि भरोषायोग्य संगठनको गरिमा र सामाजिक स्वीकारोक्तिलाई कमजोर बनाउने प्रयास हो ।’

‘नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै नेपाल पत्रकार महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा विकास गर्न प्रेस चौतारी दृढ रहेको पुनः स्मरण गराउन चाहन्छौं । तर, नेपाल पत्रकार महासंघले निर्धारण गरेका १५ बूँदे मापदण्ड, नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न (८—९ पुस २०७९) साधारणसभाबाट गरिएको सर्वसम्मत निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनबीच भएका सहमति र भावना विपरित छ । तसर्थ, महासंघद्वारा सार्वजनिक सूचना र सूचीलाई तत्काल सच्याउन प्रेस चौतारी नेपाल आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
‘महासंघद्वारा जारी विज्ञप्तिमा सार्वजनिक नाम उपर मात्रै दाबी—विरोध, सफाइको मौका र न्यायका लागि आह्वान गर्ने समय निर्धारण गरिएको छ । व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुलाई सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित गरेर सार्वजनिक गरिएको सूचीमा मात्रै दाबी बिरोधको सूचना जारी गर्नुको कुनै औचित्य छैन । तसर्थ, सार्वजनिक सूचीमा समावेश गरिएका गैर—पत्रकारहरुलाई शुद्धिकरण मापदण्ड अनुसार हटाएर सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित क्रियाशिल पत्रकारहरुलाई सूचीमा समावेश गर्न प्रेस चौतारी माग गर्दछ ।’
अन्यथा, प्रेस चौतारी पत्रकार महासंघको गरिमा रक्षा, गौरवममय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हितरक्षाको निम्ति जस्तोसुकै कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व हुने चौतारीले चेतावनी दिएको छ ।












