हजारौंको सहभागितामा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव सम्पन्न (तश्विरहरु सहित)

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ९

हजारौं भक्तजनको प्रतक्ष्य सहभागितामा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव शनिबार भव्यरुपमा सम्पन्न भएको छ । मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गन्डकी नदीको संगमको पुर्ण पावन उर्जा प्राप्त गर्न तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित उक्त गन्डकी परिक्रमा कार्यक्रममा यस क्षेत्रका सयौँ धार्मिक संघ–संस्थाको प्रत्यक्ष सहभागिता रहेको थियो ।

नेपाल सन्त समाजको आह्वानमा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन भएको महोत्सवले देवघाटमा नयाँ सम्भाव्यताको ढोका खोलेको पुष्टि भएको छ । विगतका वर्षमा भन्दा यसपटक बृहद् रुपमा सञ्चालन गरिएको परिक्रमा गलेश्वर आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरि, नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरि, चैतन्य कृष्ण आदिको विशेष उपस्थिति तथा प्रेरणा र अन्य सन्तहरूको सहभागितामा व्यवस्थित रूपले सञ्चालन भएको हो ।

तनहुँ, चितवन र नवलपुरमा पर्ने देवघाट क्षेत्रको २५ कि.मि. धार्मिक मार्गमा पैदल यात्रामार्फत गरिएको परिक्रमामा हजारौँ तीर्थयात्रीहरूको उपस्थिति रहेको थियो । शनिबार विहान ७ बजे पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गममा शालग्राम शिला र गण्डकीको पूजा सङ्कल्प गरी देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा र देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालको स्वागत मन्तव्य तथा गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिको आशीर्वचन सहित परिक्रमा कार्यक्रम सुरु भएको थियो ।

बिगतदेखी नै परिक्रमा यात्राको संयोजन गर्दै आएका महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य उप प्रा.फणीन्द्रप्रसाद पौडेलले परिक्रमाको महत्व, मार्ग र अनुशासनको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

धार्मिक झाँकी, भजन–कीर्तन र पूजा–आजा सहित परिक्रमा निकै व्यवस्थित रूपमा सम्पन्न भएको थियो । विशेष गरी देवघाट क्षेत्रका गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश संन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर आश्रम (हरिहर मन्दिर), श्रीराम मन्दिर, लक्ष्मीनारायण मन्दिर, गणेश मन्दिर, देवघाट सार्वजनिक पुस्तकालय, देवघाट सिकाइ केन्द्र लगायत अन्य मठ मन्दिरका पीठाधीश एवम् आचार्य र बटुकहरू तथा कल्पवासिहरूको परिक्रमामा मुख्य उपस्थिति रहेको थियो ।

यसै गरी चितवनतर्फ सीताराम संस्कृत मावि, रामजानकी बालिका आश्रम, रामजानकी गार्गी कन्या गुरुकुल, लक्ष्मीनारायण मन्दिर, यज्ञशाला मन्दिर, राम मन्दिर, राधादामोदर मन्दिर, योगी नरहरीनाथ गौ संरक्षण केन्द्र, लगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो । भरतपुर आँपटारी क्षेत्रबाट स्कोन चितवन, ॐ शान्ति नारायणगढ, वागीश्वरी आध्यात्मिक परिषद् लगायतका संघ–संस्थाले स्वागतसहित सहभागिता जनाएका थिए ।

आ–आफ्ना क्षेत्रमा पूर्ण कलश र फूलप्रसाद र पिउने पानीको व्यवस्थासहित नगरवासीद्वारा यात्रीहरूलाई स्वागत गरिएको थियो । पोखरा बसपार्क क्षेत्रमा गौरेश्वर मन्दिर परिवार र टोलका तर्फबाट फल र पानीको सेवासहित स्वागत गरिएको थियो भने हरिहर मन्दिर नारायणगढमा मन्दिर व्यवस्थापनका पदाधिकारी समाजसेवी लगायतका विशिष्ट महानुभावहरूले यात्रीहरूलाई औपचारिक स्वागत सत्कारसहित मन्दिरका तर्फबाट फलप्रसादको व्यवस्था गरिएको थियो ।

देवघाट र गण्डकीको महिमागान गर्दै अघि बढेको परिक्रमालाई धार्मिक सेवा समिति मौलाकालिकाको टोलीले स्वागत गरेको थियो । गैँडाकोट क्षेत्रबाट परिक्रमा महोत्सवको सहसंयोजन गरेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिको आह्वानमा त्यस क्षेत्रका अधिकांश धार्मिक संघसंस्था, मठमन्दिर र आमासमूहहरूले तीर्थयात्रीहरूको भव्य स्वागत सत्कार गरेका थिए ।

मौलाकालिका भगवतीको दर्शन गर्दै अघि बढेका यात्रीलाई श्रीलक्ष्मीनृसिंह दिव्यधाम परिसरमा भोजन प्रसादको व्यवस्थित प्रबन्ध मिलाइएको थियो । गाजाबाजा र भजनकीर्तनसहित गैँडाकोटवासीले भव्यरुपमा स्वागत र सत्कार गरेका थिए । परिक्रमामा ९० भन्दा बढी संस्थाहरूको व्यानर, पोसाक र झाँकी सहित उल्लासमय उपस्थितिमा ४ हजार भन्दा बढी सहभागी भएका थिए ।

मौलाकालिका सामुदायिक वनको उत्तरी भागमा अवस्थित वनक्षेत्रको मार्ग हुँदै पुनः तनहुँ पुगेको परिक्रमालाई देवघाट गाउँपालिका वडा नम्बर ५ को देवपुर क्षेत्रमा देवघाट जेसिजका तर्फबाट जलपानसहित भव्य स्वागत गरिएको थिए । पूर्ण यात्राभर सहभागी करिब १५ सय बढी यात्रीहरूले ऐतिहासिक मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर पूर्णाहुतिसहित परिक्रमाको समापन गरेका थिए ।

समापन कार्यक्रममा परिक्रमा यात्रा सञ्चालन समितिका संयोजक महेश संस्कृत गुरुकुलका प्राचार्य उपप्रा.फणीन्द्रप्रसाद पौडेलले विभिन्न संघसंस्थाका करिब चार हजार भन्दा बढी सहभागीहरूको यात्रामा व्यवस्थित उपस्थिति रहेको जानकारी गराउँदै सबैलाई धन्यवाद व्यक्त गरे ।

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ्गले गण्डकी परिक्रमाले अध्यन अबलोकन संगै देवघाट गाउँपालिकाको पर्यटकीय बिकासलाई पनि छिमेकी जिल्लाहरुसँग समन्वय गरि अगाडी बढाउने बताए । देवघाट गण्डकी परिक्रमाद्वारा देवघाट क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक समग्र विकासमा टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष गुरुङ्गले बताए । महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको आशीर्वचनपछि परिक्रमा यात्रा पूर्ण भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक