दमौली, मंसिर ९
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान शनिबारबाट सुरु भएको छ । नेपालमा यो अभियान ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशैभर मनाइन्छ । तिनवटै तहका सरकारहरुले यो अभियानको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन्छन् ।
यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक बर्षको नोभेम्बर २५ तारिख देखि यो अभियान शुभारम्भ भई अन्तराष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बरका दिन यस अभियानको समापन हुन्छ ।
यस अभियानको शुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकाबाट डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको छ । यस घटनालाई लैंङ्गिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ । ३ दिदी बहिनी राजनैतिक कार्यकर्ता भई तत्कालिन त्रिजुलो तानाशाही सरकारको बिरुद्धमा लागि परेका थिए । उनीहरुलाई राज्यद्रोहको आरोप लागेको थियो । यसै आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या गरिएको थियो । उनीहरुका शुभचिन्तकहरु हत्याको बिरोधमा आन्दोलनमा उत्रिए ।त्रिजुलोे सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापना सँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला बिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो । संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरि सोही अनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
पछिल्लो समय नेपालमा पनि महिला हिंसाको घटनाहरु घट्ने क्रममा कुनै कमि आएको छैन । विभिन्न अध्ययनहरुका अनुसार संसारभरीका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरै जसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जिवनसाथीबाट भोगेका हुन्छन् । त्यस्तै संसारभरका ३५ प्रतिशत महिलाहरुले आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारको शारीरिक यो यौनजज्य हिंसाको शिकार भएका हुन्छन् ।
यो अभियान अन्तर्गत पहिलो दिन शनिबार सेतो रिवन वितरणको अभियान सुरु गरियो । सेतो रिबनलाई लैङ्गिक हिंसा बिरुद्धको प्रतिकको रुपमा लिइन्छ । त्यसैगरि अभियानको क्रममा विश्व एड्स दिवस, विश्व अपाङ्गता दिवस पनि मनाईन्छ । साथै अन्तिम दिन १० डिसेम्बरमा विश्व मानवअधिकार दिवस मनाई यो अभियान समापन गरिने कार्यक्रम रहेको छ ।
तनहुँका विभिन्न स्थानीय तहले १६ दिने अभियानको कार्यक्रम सुरु गरेका छन् । व्यास नपा, म्याग्दे, शुक्लागन्डकी लगायतले विभिन्न कार्यक्रम गरि अभियानको सुरुवात गरेका छन् । जिल्ला स्तरमा भने सामाजिक विकास कार्यालयको संयोजनमा विभिन्न कार्यक्रम गरिने भएको छ ।
म्याग्दे गाउँपालिकाले अभियानको शुभारम्भको अवसरमा गाउँपालिकाको कार्यालयबाट मिन मावि थर्पुसम्म प्रभातफेरीको आयोजना गरेको थियो । प्रभातफेरीमा जनप्रतिनिधि, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी पछि आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, निवर्तमान अध्यक्ष मायादेवी राना लगायतले मन्तव्य राखेका थिए ।