दमौली, मंसिर १५
तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका-१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।
व्यास नगरपालिका–१ स्थित इन्द्रेणी स्काई बोडिङ स्कुलमा अध्ययनरत बालकको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा बुधवार मृत्यु भएको हो ।
दमौली अस्पतालमा परीक्षणको क्रममा डेंगु सङ्क्रमण पुष्टि भएको र उक्त अस्पतालमा निको नभएपछि गण्डकी अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको स्कुलका प्रिन्सिपल जयराम अधिकारीले जानकारी दिए ।
तनहुँका डेंगुको सङ्क्रमणले गर्दा हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।
तनहुँको दश पालिकामा गरी हाल सम्ममा सात हजार १६६ जनालाई डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार सबैभन्दा बढी व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ । अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन् ।