दमौली, मंसिर १५
तनहूँको म्याग्दे गाँउपालिकाले आ.व. ०८०÷०८१ को पहिलो चौमासिकमा सम्पादन गरेका कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ स्थित जामुने स्वास्थ्य चौकीमा आयोजित सो कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गाउँपालिका बाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विषयगत शाखा प्रमुखहरु तथा वडा नम्बर १, २ र ३ वडासचिवहरुले पहिलो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएका थिए । गाउँपालिका र वडा कार्यालय मार्फत सम्पन्न भएका काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको बारेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडाध्यक्षले प्रष्ट पारेका थिए ।
गाउँपालिका तथा वडा कार्यालयहरुको विचमा नागरिकको सम्बन्ध र सम्बाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रतक्ष्य सहभागिताको माध्यमबाट गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेबारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाईको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेबार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सार्वजानिक सुनुवाईको क्रममा आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुदाँ यसको महत्व विशिष्ट रहेको बताए । सार्ववजानिक सुनुवाईको माध्यमबाट सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि गाउँपालिकाद्वारा सम्पादन हुने कामलाई अझ नागरिक मैत्री बनाउन सहयोग पुग्ने घिमिरेले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारयणप्रसाद अधिकारीले स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा सार्वजनिक सुनुवाई गरिएको यसले गाउँपालिकालाई अझ पारदर्शी र प्रभावकारी बनाउने बताए । गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सार्वजानिक गरि जनताको राय सुझावको आधारमा भविष्यको नीति तथा कार्यक्रम निर्माण गर्न पनि सहयोग पुग्ने अधिकारीले बताए ।
सो कार्यक्रममा वडा नम्बर १ का वडा मणिभद्र वाग्ले, वडा नम्बर २ अध्यक्ष शिवबहादुर रानाभाट तथा वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारीले पनि सेवाग्राहीले उठाएका विषयमा मन्तव्य राखेका थिए । सो कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले आफ्नो शाखाबाट सम्पादित कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने वडा सचिवहरुले वडा कार्यालयबाट सम्पादित कामहरुको बारेमा जानकारी गराएका थिए ।