बन्दिपुर, मंसिर १७
तनहुँको बन्दीपुर गाउँपालिकामा भएको स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जना लाभान्वित भएका छन् । बन्दिपुर गाउँपालिकाको आयोजना र सोसियल डेभलभमेन्ट सर्पोट तथा ओमेन फर ओमेन नेदरल्याणको सहयोगमा यही मंसिर १० गतेदेखि धरमपानी स्वास्थ्य चौकी बाट सुरु भएको कार्यक्रम बन्दीपुर अस्पतालमा शनिबार शिविर सन्चालन सम्पन्न भएको थियो ।
गाउँपालिकाका ६ वटै वडालाई समेटेर स्वदेशी तथा विदेशी महिला चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न गरिएको बन्दिपुर अस्पतालका प्रशासन प्रमुख भगवान त्रिपाठीले जानकारी दिए । शिविरमा सबै वडाका ६ सय ४१ जनाले सेवा लिएको त्रिपाठीले जानकारी दिए ।
शिविरमा स्वस्थ्य उपचार गराएका मध्ये १७ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने चिकित्सकहरुले बताएको बन्दिपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए । ति मध्य ४ जनाको अप्रेसन गाउँपालिका र स्वदेशी नेपालको सहयोगमा सिर मेमोरियलमा भएको छ ।
शिविरमा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमायाँ गुरुङ तथा प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले विशेष समन्वय गरेका थिए । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले ६ वटै वडाको शिविर अनुमगन गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष थापाले ग्रामिण भेगका अधिकाशं महिलाहरुले आफु भित्र रहेको गुप्त रोगहरु अरुले केही भन्लान की भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै सन्चालित शिविरबाट महिलाहरुले धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभावकारी रहेको बताए ।
यसैविच बन्दीपुर अस्पतालमा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । बन्दीपुर गाउँपालिका, वे वन बोडर्स तथा बन्दीपुर अस्पतालको संयुक्त आयोजनमा भएको सो शिविरमा ३ सय २२ जनाले स्वास्थ्य सेवा लिएका थिए ।
ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । शिविरमा क्यान्सर रोग बिषेशज्ञ तथा बन्दीपुर गाउँपालिकाका स्वास्थ्य सल्हाकार डा मदन पिया लगायत स्वदेशी तथा बिदेशी स्वाथ्यकर्मीहरुबाट मुटु छाती तथा दन्तरोग सम्बन्धी अनुभवी बिशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा र डा.मदन पियाको प्रमुख आतिथ्यमामा सो कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष दान बहादुर थापा वडा सदस्य रवि श्रेष्ठ बन्दीपुर सामाजिक बिकास समितिका पधादिकारी बिभिन्न संघ संस्था तथा राजनितिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।