दमौली, मंसिर १७
लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको थियो ।
तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि सुवास उप्रेतीले विगतमा विविध कारणवश पुलको कामले गति लिन नसके पनि तिहारपछि भने काम सुरु भएको बताए । अहिले पुल निर्माणका लागि कामदार परिचालित भएको भन्दै उनले जतिसक्दो चाँडो सक्ने बताए । केही दिन अघि बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानसँग निर्माण कम्पनी मृत सन्जिवनी प्रा.लि.का प्रतिनिधि उप्रेतीले अव पुल निर्माणको कामलाई तिब्रता दिइने प्रतिबद्धता जनाए ।
नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्रै ठडिएको छ । पुल निर्माण चाँडै सम्पन्न गराउनका लागि तनहुँका जनप्रतिनिधिले निरन्तर चासो लिँदै आएका छन् । केही दिन अघि मात्रै आवुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भौतिक पुर्वाधार मन्त्रालय मार्फत निर्माण कम्पनीका प्रतिनिधिसँग कुरा गर्दै पुल निर्माण कार्यलाई तिब्रता दिन अनुरोध गरेका थिए ।
त्यस्तै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्लेले पनि पुल निर्माणमा चासो दिँदै आएका छन् । सो पुल निर्माण नौ वर्षदेखि अलपत्र छ । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशतमात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिनसकेको छैन ।
एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।
उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।