पृथ्वीराजमार्गको आबुँखैरेनी खण्डमा कालोपत्र सुरु (तश्विर सहित)

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २०

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकको अन्तर्गत पर्ने आबुँखैरेनी खण्डमा एकतर्फी कालोपत्र सुरु गरिएको छ । मुग्लिन–पोखरा सडक विस्तार कार्य अन्तर्गतको आवुँखैरेनी गाउँपालिका अगाडीबाट पश्चिम तर्फ थप साँढे चार किलोमिटरको एकतर्फी कालोपत्र सुरु भएको आयोजनाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्कीचोकसम्मको साढे चार किलोमिटर सडकको मंगलबारबाट एकतर्फी कालोपत्र सुरु भएको सडक विस्तार आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । इन्जिनियर पाण्डेका अनुसार गाउँपालिकाचोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र कार्य अघि बढाईएको हो ।

यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन किलोमिटर दूरीमा कालोपत्र कार्य सम्पन्न भईसकेको छ । अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम काम अघि बढेको आयोजनाले जनाएको छ ।

यसअघि डुम्रे पुलबाट छिर्कनसम्मको करिब ६ किलोमिटर खण्डमा पनि एकतर्फी कालोपत्र सम्पन्न भईसकेको छ । ४१ दशमलव ४५ किमी खण्ड मध्ये हालसम्म ९ किलोमिटरमा एकतर्फी कालोपत्र भईसकेको छ । यसमा अव पाँच किलोमिटर कालोपत्र थपिने भएको छ । एकतर्फी कालोपत्र भएपछि उक्त सडकमा यातयात आवागमनमा केही सहज भएको छ ।

यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको छ । आयोजनाका अनुसार उक्त खण्डमा हालसम्म ४२ प्रतिशत काम भईसकेको छ ।

पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भएर २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । उक्त खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ वैशाखसम्म छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू