आबुँखैरेनी, मंसिर २५
आबुँखैरेनी गाउँपालिकाले हरेक शुक्रबार आँबुखैरेनी बजारमा हाटबजार सन्चालन गर्दै आएको छ । उक्त हाटबजारमा मेलामा पालिकाभित्र उत्पादन भएका रैथाने बाली तथा अर्गानिक कृषि उपज तथा सामग्रीको बिक्री वितरण गर्दै आएको छ ।



गाउँपालिकामा उत्पादित स्थानीय एवं रैथाने बालीको संरक्षण, प्रबद्र्धन तथा बजारीकरण गर्न र कृषकलाई हौसला दिन उद्देश्यले हाटबजारमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लगायत वडाध्यक्षहरु आफैँ बिक्री गर्न पुग्छन् । प्रत्येश शुक्रबार लाग्ने उक्त हाटबजारमा अर्गानिक र रैथाने उत्पादन पाउने भएपछि आबुँखैरेनीबासी पनि उत्साहित भएका छन् ।
उक्त हाटबजार मेलाको मुख्य आकर्षण वडा नम्बर ५ को लाब्दी गाउँको साग रहेको छ । करिव २००० मिटर उचाइमा उत्पादित स्थानिय साग र गुन्द्रुक हाटबजारको मुख्य आकर्षण र ग्राहकको रोजाई बन्दै गएको छ । लाब्दीको साग हाटबजारमा आउना साथ खोसाखोस हुने गर्छ । त्यसबाहेक राजमार्गमा यात्रा गर्ने नीजि सवारी धनीहरुले पनि हाटबजारमा गई लाब्दी साग खरिद गर्ने गरेको वडा अध्यक्ष सन्तोष गुरुङले बताए ।
वाड नम्बर ५ को १५ सय देखी २ हजार मिटरको उचाई लाव्दीमा खेती गरिएको रैथाने अर्गानीक रायो सागको माग आँबुखैरेनीवासीबाट अत्याधिक भएको हुनाले हाटबजारमा लैजाने गरिएको वडा अध्यक्ष गुरुङले बताए । हाटबजारमा साथ प्रति मुठा ५० रुपैयाँ र गुन्द्रुक प्रति मुठा एक सय रुपैयाँमा विक्री हुन्छ ।
त्यसबाहेक लोकल सिमि, मह, गोलभेंडा, सखरखन्ड, मास, मस्याङ कोदो पनि सर्वसाधरणहरको बिशेष रोजाइमा पर्ने गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिए । गत साता एकै दिनको हाटबजार मेलामा वडा नम्बर ५ को लाब्दी र छिम्केश्वरीबाट लगिएको उत्पादन १ लाख ८० हजार रुपैयाँ बराबरको विक्री भएको वडा अध्यक्ष गुरुङले बताए ।
वडा अध्यक्ष गुरुङ कृषकहरुसँगै बसेर साग तथा अन्य उत्पादन विक्रीको लागि खटिएका थिए । स्थानिय स्तरमै उत्पादित सामाग्री गाउँपालिकाले हाटबजारसम्म निशुल्क ढुवानीको व्यवस्था मिलाएको छ । ढुवानी तथा बिक्रि बितरणको जिम्मा गाउँपालिकाले नै लिएपछि कृषकहरु पनि उत्साहित बनेका छन् ।
अब सबै घर परिवारलाई व्यवसायीक कृषि र पशुपालनमा आवद्ध गराउन वडाका सबै आमा समुहलाई कृषक समुहमा दर्ता गराई सामुहिक रुपमा खेती गराउने व्यवस्था मिलाउने वडा अध्यक्ष गुरुङले बताए । ‘कृषिमा अनुदान दिन व्यक्तिलाई भन्दा समुहलाई सजिलो हुने देखियो’ उनले भने ‘अब सबै आमा समुहलाई कृषि समुहमा दर्ता गराई व्यवसायीक खेतीलाई थप जोड दिन्छौं ।’ प्रत्येक घरले केही न केही उत्पादन गरेर आम्दानी लिन सक्नु पर्ने उनको जोड छ ।
हाटबजारमा आलु काउली लसुन, बाँसबाट बनेका हस्तकला सामाग्री तथा खसी बोका लोकल कुखुरा समेत पालिकाको संयोजनमा बिक्री गर्न राख्ने गरिएको छ ।