दमौली, मंसिर २५
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डको मादी नदीमा पुल निर्माण सुरु गरिएको छ । सडक विभागले मादी नदीमा निर्माण गरिने पुलको आर्क डिजाइन स्विगत गरेसँगै पुल निर्माण कार्य सुरु गरिएको हो ।
उक्त पुलको निर्माण सुरु भएको मुग्लिन पोखरा सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उक्त पुलको ठेक्का जेडआईष्ट अन्नक जेभीले पाएका छन् । उक्त पुल एक अर्ब २१ करोड रुपियाँको लगानीमा निर्माण हुने छ । उक्त पुल चार लेनको हुनेछ ।
निर्माण कम्पनीले पुलको व्यास नपा ५ को सडक डिभिजन कार्यालयको पछाडी तर्फको भागमा काम सुरु गरेको छ । पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय विस्थापित हुने भएको छ ।
८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो । अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुने–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ । पूर्वी खण्डको म्याद आगामी २०८१ वैशाखसम्म छ । पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो । पश्चिमी खण्डको म्याद २०८१ भदौसम्म छ । यस खण्डको विस्तारका लागि २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।
पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने पश्चिम खण्डको निर्माण जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई दिइएको छ । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख
१३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा दिइएको छ । एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ । पुर्वी खण्डमा नौ किलोमिटर एकतर्फी कालोपत्रे भईसकेको छ भने थप पाँच किलोमिटर कालोपत्रे केही दिनमा पुरा हुनेछ । पुर्वी खण्डमा ४२ प्रतिशत काम भईकसेको आयोजनाले जनाएको छ ।
यो सडकखण्ड चार लेनमा विस्तार भइसकेपछि सडक सीमा दुईतर्फी २५÷२५ मिटर भए पनि बाक्लो घरबस्ती भएको ठाउँमा सडकको कुल चौडाइ ४१ मिटर हुने छ । विस्तारपछि तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर तथा दुलेगौँडा,
खैरेनीटार बजार, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटर हुने सडक विभागले जनाएको छ ।