दमौली, मंसिर २८
व्यास–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालक तथा व्यवस्थापक कृषक तथा महिला उद्यमी कल्पना गौलीले आफ्नो जन्मोत्सव विभिन्न सामाजिक काम गरि मनाएकी छन् । ५४ औँ जन्मोत्सवको अवसरमा गौलीले विहीवार आफ्नै फर्ममा वृद्धावृद्धलाई सम्मान गरि जन्मदिन मनाएकी हुन् ।



सम्मान कार्यक्रममा स्थानीय दरै र बोटे समुदायका १० जना वृद्धावृद्धलाई गौली सहित व्यास ५ का वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले राम नमी, फुलमाला र अविर लगाएर सम्मान गरेका थिए । सोही अवसरमा गौलीले बोटे समाजलाई एक÷एक थान दराज र टेवल सहयोग पनि गरेकी छन् । दराज व्यास २ स्थित पोख्रेल फनिर्चरबाट सौजन्य भएको हो भने टेवल उनी आफैले सहयोग गरेकी हुन् ।

सोही अवसरमा आयोजित कार्यक्रममा बोल्दै व्यास ५ का वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले परिवारबाट वृद्धावृद्धलाई उचित स्याहार र माया ममता दिनुपर्ने बताए । साथै पछिल्लो समय मानिसहरुले कृषि पेशा छोडने क्रम बढेकाले सामूहिक रुपमा व्यवसायिक कृषि थालिनुपर्ने बताए । कृषक र कृषि पेशाको प्रवद्र्धन गर्न वडाले विभिन्न रचनात्मक कार्यक्रम ल्याउने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा व्यास–३ का वडा सदस्य दधिराज घिमिरे, व्यास–४ का वडा सदस्य सरोज भण्डारी, समाजसेवि तथा राजनीतिज्ञ बसुन्धरा घर्ती लगायतले गौलीले समाजमा उदाहरणीय काम गरि धेरैलाई प्रेरणा प्रदान गरेको भन्दै प्रशंशा व्यक्त गरे ।

यसैगरि गौलीले जन्मदिनकै अवसर पारेर विहिबार नै जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीको लागि २० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गरिन् । गौलीले कारागारका कैदी बन्दीहरुलाई सहयोगी हुने कानुनसँग सम्बन्धित र अन्य चेतना तथा सन्देशमुलक उपन्यास लगायतका पुस्तक कारागारका प्रमुख नारायण अधिकारीलाई हस्तान्तरण गरिन् ।
सो अवसरमा बोल्दै कारागार प्रमुख अधिकारीले कारागारलाई जेलको रुपमा भन्दा पनि सुधारगृहको रुपमा परिणत गर्न खोजिएको हुँदा प्राप्त पुस्तकले कैदी बन्दिको जिवनस्तर परिवर्तनमा सहयोग पुग्ने बताए ।
सो कार्यक्रममा महिला उद्यमी गौलीले कारागारमा विभिन्न कारण र परिवेशले बस्न बाध्य भएका दाजु भाई तथा दिदि बहिनीहरुलाई पुस्तकको माध्यमबाट सकारात्मक सोचाईको विकास गराउन पुस्तक हस्तान्तरण गरेको बताइन् ।
खर्चिलो र भड्किलो तरिकाबाट जन्मदिन मनाउनु भन्दा कसैलाई सहयोग र सम्मान गर्नु नै मानविय धर्म ठानेर सहयोग गरेको गौलीले बताइन् । साथै पछिल्लो समय युवा पिढीमा जन्मत्सव फरक तरिकाले मनाउने गरिएकाले पनि सामाजिक उत्तरदायित्व बहन गर्ने सन्देश प्रवाह गर्न आफुले हरेक जन्मदिनको अवसरमा सामाजिक काम गर्दै आएको उनले बताइन् ।

सो कार्यक्रममा व्यास नपा ३ का वडा सदस्यहरु दधिराज घिमिरे, विनु श्रेष्ठ, श्रीमाया विक, व्यास ४ का वडा सदस्य सरोज घिमिरे, पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए ।












