देवघाट, पुस २२
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम स्थित त्रिशुली र कालिगन्डकी नदीमा मोटरबोट सन्चालन गर्न नदिने चितवन प्रशाशनले निर्णय गरेको छ । माघे सक्रान्ति मेलाको तयारीको बारेमा आइतबार जिल्ला प्रशासन कार्यालय चितवनका बसेको सर्वपक्षिय बैठकले देवघाटको त्रिशुली र कालिगन्डकी नदीमा मोटरबोट सन्चालन गर्न नदिने निर्णय गरेको हो ।



सम्बन्धित निकायको अनुमती बिना देवघाटमा मोटरबोट सञ्चालनमा ल्याइएको थियो । बोटे बोरा मोटरबोट प्रालिले सम्बन्धित निकायसँग अनुमती नै नलिईकन दुई सातादेखि देवघाटको वेणी संगम क्षेत्रमा मोटरबोट सञ्चालनमा ल्याएको थियो । यसबारेमा देवघाट अनलाइनले समाचार प्रकाशन गरेको थियो । देवघाट क्षेत्र विकास समितिका कर्मचारी किरणराज पौडेलले मोटरबोट सन्चालन गरिँदा वेणी संगममा स्नान गर्ने भक्तजनहरुलाई असुविधा हुनेभएपछि मोटरबोट सन्चालन गर्न नदिने निर्णय भएको जानकारी दिए ।
पवित्र कालिगवन्डकी र त्रिशुलीको संगम वेणीको पाँच सय मिटर वरपर मोटरबोट सन्चालन गर्न पाईदैन । उक्त नियमको उल्लंघन गर्दै देवघाट क्षेत्र विकास समितिसँग पनि कुनै अनुमती नलिईकन र आवश्यक प्रक्रिया पुरा नगरिकन मोटरबोट सन्चालन गरिएको थियो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले क्षेत्र विकास समितिसँग अनुमती नै नलिईकन मोटरबोट सन्चालन गरेको पाईएपछि रोक्न निर्देशन दिईएको बताए । मोटरबोट सन्चालनकोलागि कुनै पनि प्रक्रिया पुरा नगरिकन सन्चालन गर्न अबैध भएको बरालको भनाई छ । बेणी संगमको पाँच सय मिटर वरपर मोटरबोट सन्चालन गर्न नपाईने नियम रहेको बरालले जानकारी दिए ।
उक्त कम्पनीले सम्बन्धित निकायसँग अनुमती नलिईकन देवघाट क्षेत्रमा छोटो र लामो दूरीमा मोटरबोट सन्चालन गरेको थियो । भरतपुर महानगरपालिकाबाट स्वीकृति लिएर मोटरबोट सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।