देवघाट, पुस २९
देशकै मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुरको संगममा रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा भोली माघे संक्रान्ति मेला लाग्ने भएको छ । यस वर्षको माघे संक्रान्ति मेला भर्न पाँच लाख भन्दा बढि भक्तजन आउने देवघाट क्षेत्र विकास समितिले अनुमान गरेको छ । माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।



ज्योतीषिय गणना अनुसार सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर संक्रान्ति (माघे संक्रान्ति) भनिन्छ । पद्य्म पुराणका अनुसार सुर्य मकर राशीमा गएको बेला माघ महिना भर देवघाटधाममा स्नान गर्नाले ठुलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लाग्ने गर्छ ।

देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको देवघाटधामको बेणी संगम भएकोले यो पर्वको विशेष महत्व रहेको छ । यसै दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ ।
देवघाटको बेणी संगममा बाँसको लिङ्गो गाडेर आइतबार विहान माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरियो । देवघाटधाम स्थित विभिन्न आश्रमका पीठाधीश, सन्त महन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेणी पुगेको थियो । बेणीमा गलेश्वर आश्रममा गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरिजी महाराज, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरिजी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानालगायत क्षेत्र विकास समितिका सदस्य, आश्रमका बटुकहरुको उपस्थिति रहेको थियो ।

योसँगै देवघाटधाममा माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यस वर्ष विधिपूर्वक मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउनेक्रम सुरु भएको छ । आइतबार राती भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

वशिष्ठ, विश्वामित्र, जनक, सीता, जस्ता सयौं ऋषि महर्षि देवघाटमा आई तपस्या गरेका, रामले अश्वमेध यज्ञ लगाएका, सीताजी विलय भएकी, पाल्पाली राजा मणिमुकुन्द सेनले यही आएर तपस्या गरेका धार्मिक तथा ऐतिहासिक तथ्यहरुले पनि यस धार्मिक तीर्थस्थलको महत्व बढेको गलेश्वर आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजीले बताए । यस्तो महत्वपूर्ण पवित्र धार्मिक तीर्थ स्थलमा भक्तजनहरुको घुइँचो लाग्नु स्वाभाविक नै मानिने उनले बताए ।

देवघाट क्षेत्र विकास समितिले तीर्थ यात्रीहरुको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस भन्ने उद्देश्यले चितवन, तनहूँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुख, अलायतको समन्वयमा सयौँ सुरक्षाकर्मीहरु परिचालन गरिने बरालले बताए । मेलाको सुरक्षाकोलागि गन्डकी प्रदेश सरकारबाट दुई सय प्रहरी, तनहुँबाट एक सय नेपाल प्रहरी र ४५ जना सशस्त्र प्रहरी र चितवनबाट १ सय नेपाल प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा ३० जना नेपाली सेना परिचालन हुने देवघाट क्षेत्र विकास समितिका कर्मचारी किरणराज पौडेलले बताए ।
मेलाको अवधिमा सवारी साधनहरु चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुदै आँपटारी भएर फर्कने व्यवस्था मिलाईएको छ । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारी साधनहरुलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोहि रुटबाट फर्कने व्यवस्था मिलाईएको छ । त्रिशुली नदीको झोलुङ्गेपुलमा हिड्दा नरोकिकन पंक्तिवद्ध भई विस्तारै हिड्न क्षेत्र विकास समितिले अनुरोध गरेको छ । सो पुलमा एकपटकमा एक सय जना यात्रु मात्र हिड्न दिने व्यवस्था मिलाईएको छ । बैकल्पिक मार्गको रुपमा वेणीमा प्रशस्त मात्रामा डुङ्गाहरुको व्यवस्था गरिएको छ । डुङ्गा, ¥याफ्टिङ्गबाट नदीवारपार गर्दा लाईफ ज्याकेट अनिवार्य लगाउनु पर्ने व्यवस्था मिलाईएको छ भने डुङ्गा तथा ¥याफ्टिङ्गबाट एकतर्फी भाडा ५० रुपैयाँ कायम गरिएको बरालले जानकारी दिए ।

बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्र भन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने संकेत दिइएको छ । साथै भक्तजन एवं तीर्थयात्रीहरुको सुविधाको लागि विभिन्न सन्देश मुलक, सूचना मुलक एवं जानकारी मुलक बोर्ड र व्यानरहरुको पर्याप्त मात्रामा व्यवस्था मिलाइएको बरालले बताए । नुहाउँदा हुनसक्ने संभावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट आकस्मिक उद्धारका लागि २ बटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाईएको छ भने ससस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरीनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट २÷२ वटा उद्धार याफ्टिङ्ग डुङ्गा ल्याईने बरालले बताए ।

माघे संक्रान्तिमा देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको छ । यसवर्ष करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।
यसैगरि माघे संक्रान्ति मेलाको क्रममा देवघाट क्षेत्रमा धुम्रपान, मद्यपान तथा मांस मदिरा निषेध गरिएको छ । देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेलामा धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध गरिएको जनाएको छ ।

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम आध्यात्मिक तपोभूमि भएकोले यस स्थलमा सदैव धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध रहँदै आएकोमा माघे संक्रान्ति पर्वको अवसरमा गत विगत वर्षहरुमा छिटपुट रुपमा बिक्री वितरण र सेवन कार्य भएको पाइएकोले उक्त कार्यहरु निषेध गर्ने भन्ने माघे संक्रान्ति मेला व्यवस्थापन मूल समितिको बैठकबाट निर्णय भएकाले मांस मदिरा बिक्री वितरण ओसार पसार र सेवन कार्य पूर्ण रुपमा निषेध गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।












