दश वर्षपछि सञ्चालनमा आउँदै चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल

शेयर गरौ

 देवघाट, माघ ३

भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउँदैछ । विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न हुँदैछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार यही माघ २० गतेदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल र बाटो जोड्ने स्ल्याप पुस २८ गते ढलान गरिएको छ । पुलको दुवैतर्फको स्ल्याप ढलान गरिएकाले माघको २० गतेबाट सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।

भरतपुर–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । पौडेलका अनुसार निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको हो । निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कनबीचमा संशोधन गर्नुपर्दा समय लागेको उनले बताए ।

निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले जानकारी दिए । उनले भने “एक सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ ।”

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो । दुईपटकसम्म पुल भत्किएपछि काममा थप ढिलाइ भएको हो । पुल निर्माणका लागि सुरुमा रु. १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ ।

पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको स्वीकार्नुभयो । डिभिजन सडक कार्यालयका तत्कालीन डिभिजनल प्रमुख हरिकुमार पोख्रेल हुँदा निर्माण सम्झौता गरिएको यो पुल आठौँ प्रमुख पौडेल रहँदा सम्पन्न हुन लागेको हो । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण