देवघाट, माघ ३
तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय भवनको निर्माण कार्य बजेटको अभावमा रोकिएको छ । बजेट अभावले तिन महिना देखी पुस्तकालयको भवन निर्माण कार्य रोकिएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए ।
देवघाट सार्वजनिक पुस्तकालय बजेट अभावमा निर्माण कार्य झण्डै तिन महिना देखि रोकिएको भन्दै अध्यक्ष पौडेलले नेपाल सरकारका कुनै पनि तहबाट चालु आर्थिक बर्षमा बजेट प्राप्त हुने सम्भावना कमजोर देखिएको बताए । उनले पुस्तकालय निर्माण अभियानमा हाल सम्म सहयोग गर्नुहुने संघ संस्था, कार्यालय एवं दाता महानुभावहरू प्रति आभार व्यक्त गरेका छन् । पुस्तकालय निर्माणमा देवघाट क्षेत्रमा रहने व्यक्ति र केही संघ संस्था एवं सामुदायिक वन हरुले सहयोग गरेका थिए तर सरकारी स्तरबाट यस वर्ष कुनै पनि रकम प्राप्त नभएको अध्यक्ष पौडेलको भनाई छ ।
करिब २ करोड ५० लाख लागत अनुमान रहेको सो भवनको लागि हालसम्म विभिन्न सरकारी, संघ संस्थाबाट व्यक्तिगत स्तरबाट ३५ लाख रुपैयाँ संकलन भएको छ भने निर्माणमा ४० लाख रुपैयाँ खर्च भएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त भवन निर्माणकोलागि गत आर्थिक वर्षमा देवघाट गाउँपालिकाले १० लाख र देवघाट क्षेत्र विकास समितिले २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसबाहेक अन्य सरकारी रकम हालसम्म प्राप्त नभएको अध्यक्ष पौडेलले बताए । देवघाट गाउँपालिकाले चालु आर्थिक वर्षमा भवनको लागि कुनै पनि रकम विनियोजन गरेको छैन । यस बाहेक पुस्तकालय भवन निर्माणमा बजेट बिनियोजनकोलागि गन्डकी प्रदेश सरकारका मुख्यमन्त्री समक्ष निबेदन पेश गरेपनि हालसम्म कुनै पनि रकम विनियोजन नभएको पौडेलले बताए ।
२०७९ फागुन २५ गते देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा सहित गलेश्वर आश्रमका पिठाधिश महामन्डलेश्वर स्वामी आत्मनन्द गिरि, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पिठाधिश स्वामी रमणानन्द गिरि तथा श्री निवास भागवत आश्रम देवघाठका प्रमुख डा. स्वामी चक्रपाणी आचार्यले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेका थिए ।
देवघाट सार्वजानिक पुस्तकालय देवघाटको महत्ववपुर्ण चिनारी भएको हुँदा यसको भवन निर्माणमा सहयोग गर्नु सबै देवघाटबासीको दायित्व हुने अध्यक्ष पौडेलले बताए । पुस्तकालयको भवन निर्माणाधिन भएको कारण हाल पुस्तकालय नेपाल रेडक्रस सोसाईटी देवघाट उपशाखाको भवनबाट सन्चालित हुँदै आएको छ ।
देवघाटलाई पुर्विय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा तत्कालिन अध्यक्ष डा.गुरुप्रसाद सुवेदी र देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शिवदत्त ढकालको विशेष पहल र सक्रियतामा उक्त पुस्तकालयको स्थापना गरिएको थियो । इतिहाँस, बेद र पुराणहरुको माध्यमबाट देवघाटधामलाई पुर्विय दर्शनको अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताए ।
देवघाटधाम विश्वका हिन्दुहरुको पवित्र धार्मिक स्थल भएको र यहाँ आउने भक्तजनहरुले पुस्तकालयको माध्यमबाट पुर्विय दर्शनको बारेमा देवघाटको महत्वको बारेमा अध्ययन गर्न सकुन भन्ने उद्देश्यले पुस्तकालयको विकास गरिएको अध्यक्ष पौडेलले बताए । विगतमा कच्ची संरचनामा पुस्तकालय सन्चालन गर्दा यहाँ आउने पाठक र भक्तजनलाई असुविधा भएको कारण सुविधा सम्पन्न आधुनिक भवन मार्फत पुस्तकालयको माध्यमबाट देवघाटको प्रचार प्रसार र प्रबद्र्धन गर्ने उदेश्यले भवन निर्माण सुरु गरिएको अध्यक्ष पौडेलले बताए । उक्त पुस्तकालयमा संस्कृत र धार्मिक पुस्तकहरुको अलावा, साहित्य र दर्शनका पुस्तकहरु उल्लेख्य मात्रामा रहेका छन् ।