पृथ्वीराजमार्गः पैदलयात्रीलाई छैन लेन, छोटो दुरीको यु–र्टनले पनि दुर्घटना बढाउने

Devghat Online

शेयर गरौ

दमौली, माघ १५

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक निर्माणको क्रममा छ । दुई खन्डमा बाँडेर गरिएको कामको पश्चिम खन्ड भन्दा पुर्वी खन्डमा भौतिक प्रगति बढि भएको छ । पुर्वी खन्डमा ४४ प्रतिशत काम सकिएको सडक निर्माण आयोजनाले जनाएको छ ।

यो खन्डमा करिब २० किमि एकतर्फी कालोपत्र भईसकेको छ भने दुई तर्फी कालोपत्र पनि भईरहेको छ । पश्चिमी खन्डमा भने परिक्षणकोलागि ३५० मिटर कालोपत्र गरिएको छ । उक्त खन्डमा अव करिब ६ सय मिटर कालोपत्र गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ ।

दुबै खन्डमा अव धमाधम कालोपत्रको तयारी गरिएको छ । कालोपत्र गरिएको सडकको दृश्य निकै सुन्दर र आकर्षक देखिएको छ । तर उक्त सडक जति सुन्दर र आकर्षक देखिएको छ, त्यती नै खतरायुक्त पनि भएको छ ।
उक्त सडकको आवुँखैरेनीदेखी पोखरासम्मकै दुरीमा पैदलयात्रीको लागि लेन छुट्याईएको छैन । आयोजनाका एक इन्जिनियरका अनुसार सडकको डिजाईनमै फुट ट्रयाक लेन नभएको कारण सडक निर्माणको क्रममा त्यो भाग नछुट्याईएको हो ।

केही दिन अघि तिब्र गतिमा गुडेको सवारी साधनको ठक्करबाट मित्रता मावि सत्रसयमा अध्ययन गर्ने एक विद्यार्थी घाइते भए । सडक कालोपत्र भएपछि सवारी साधनहरु तिब्र गतिमा गुडाउने गर्नाले दुर्घटनाको जोखिम बढाएको छ । पैदलयात्रीकोलागि छुट्टै लेन नहुँदा पैदलयात्री पनि गाडी गुड्ने सडकमै हिड्नु पर्ने बाध्यता उक्त सडकमा रहेको छ ।

सडक कालोपत्र भएको ठाउँमा तिब्र गति तथा अनियन्त्रित तरिकाले सवारी चलाउँदा दुर्घटनाको जोखिम बढाएको छ । यति महत्वपुर्ण सडकको डिजाईन गर्दा पैदलयात्रीको लागि ठाउँ नछुट्याउनु आयोजनाको ठुलो कमजोरी हो । पैदल यात्रीलाई हिड्नको लागि कुनै ठाँउ नभएको कारण सडक निर्माण पुरा नहुदै दुर्घटना सुरु भईसकेको छ । कतै चार लेन त कतै ६ लेन हुने उक्त सडकमा पैदलयात्री तथा साईकलको लागि छुट्टै लेन बनाउनु पर्नेमा सरोकारवालाहरुले माग गरेका छन् ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा नागरिकहरुले पृथ्वीराजमार्गमा पैदल लेन नहुँदा दुर्घटनाको जोखिम बढ्ने बारेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए । यसैगरि उक्त सडकमा छोटो छोटो दुरीमा यु–र्टन (अर्काे दिशामा पास हुने क्षेत्र) राखिँदा पनि दुर्घटनाको जोखिम बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्टले पैदल लेन नहुँदा र छोटो दुरीमा यु–र्टन राखिँदा दुर्घटनाको जोखिम बढाउने बारेमा आयोजनाका अधिकारीहरुलाई ध्यानाकर्षण गराएको बताए ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर निर्माणको काम गरिरहेको छ । पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको म्याद वि.सं २०८१ वैशाखसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद वि.सं २०८१ भदौसम्म रहेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४६ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू