दमौली, माघ २५
दमौली देखि छाब्दी बाराहीदेवीको मन्दिरसम्म आदिकवि छाब्दि मिनी म्याराथन दौडको आयोजना हुने भएको छ । आदिकवि भानुभक्त क्याम्पस र छाब्दी बाराही विकास कोष, व्यास नपा–१४ को संयुक्त आयोजनामा उक्त दौड हुन लागेको हो ।
छाब्दि बाराही मन्दिरको व्यापक प्रचारप्रसार गरी उक्त क्षेत्रमामा आन्तरिक, बाह्य एवं धार्मिक पर्यटनलाई विस्तार गर्न तथा युवाहरूलाई खेलप्रति आकर्षण गर्नका लागि उक्त म्याराथन दौडको आयोजना गर्न लागिएको हो । ‘स्वास्थ्यदेखी आस्थासम्म, क्याम्पसदेखी मन्दिरसम्म’ भन्ने मुल नाराका साथ सो मिनी म्यारथन दौडको आयोजना गरिएको हो ।
क्याम्पसको वार्षिक खेलकुद कार्यक्रम २०८० को तालिका अन्तर्गत सो दौड प्रतियोगिता हुन लागेको हो । गत बुधबार साँझ छब्दिमा वडा नम्बर १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा उक्त म्याराथन दौडको तयारीको लागी प्रारम्भिक बैठक सम्पन्न भएको छ ।
सो म्याराथन दौडको सुरुवात बिन्दु आदिकवि भानुभक्त क्याम्पस व्यास १ विज्ञानचौर र अन्तिम बिन्दु व्यास १४ छाब्दी बाराही मन्दिर परिसर सम्म रहनेछ । प्रतियोगिता प्रजातन्त्र दिवस सप्ताहको अवसरमा फागुन १ गते हुने भएको छ ।
म्याराथनमा तनहुँ जिल्लाभरका क्याम्पस र विद्यालयका विद्यार्थीहरूले खुला प्रतिस्पर्धा गर्ने अवसर दिइने छ । मिनी म्याराथन दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राशी र प्रमाणपत्र प्रदान गरिने भएकोछ । प्रतियोगिताको सहआयोजकमा रजवाम युवा क्लब रहनेछ ।