दमौली, माघ २५
आदिकवि भानुभक्त क्याम्पसमा त्रिवि, शिक्षाशास्त्र संकाय अन्तर्गत बीएड तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि क्याम्पसको विज्ञान तथा प्रविधि विभागले तयार पारेको पूरक पाठ्यक्रम अथवा नन क्रेडिट कोर्स प्रवोधिकरण तथा पृष्ठपोषण संकलनका लागि सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम विहिबार क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ ।
सो अवसरमा जलवायू परिवर्तन र त्यसले ल्याएका समस्याहरू र परिवर्तित जलवायुमा स्थानीय कृषिलाई कसरी अनुकूलन गर्न सकिन्छ भन्ने बारेमा क्याम्पसको विज्ञान विभागले पुरक पाठ्यक्रम माथि सरोकारवालाहरूलाई जानकारी गराउने तथा उनीहरूको पृष्ठपोषण संकलन सम्पन्न गरिएको थियो ।
विएड तहमा विज्ञान शिक्षा विषय अध्ययनरत विद्यार्थीहरुलाई सो पाठ्यक्रम अध्ययन गर्ने अवसर प्रदान गरिने क्याम्पसले जनाएको छ । क्याम्पसमा नियमित पाठ्यक्रमका अलावा उक्तथप पाठ्यक्रम पढाईनेछ । यसको अध्ययनबाट विद्यार्थीहरूलाई जलवायु परिवर्तन र बदलिँदो जलवायुमा कृषि पेशागत चुनौतीहरूको बारेमा थप सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानका बारेमा छलफल भएका थियो ।
सो कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले अहिलेका युवा विद्यार्थीहरूले कि त जागिरे मानसिकता राख्ने र नभए विदेश ताक्ने गरेको र ती युवा विद्यार्थीहरूका लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास विकास गराउनु पर्ने बाए । मिश्रले स्वदेशमै संघर्षरत सफल व्यवसायी, किसान, उद्योगी र व्यापारीहरुसँग विद्यार्थीहरूको साक्षात्कार गराउने किसिमका कार्यक्रम राख्ने र सोही समेटेर पाठ्यक्रमहरू अध्यापन गर्ने गरेकोमा क्याम्पसलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा जिल्ला उद्यमी समितिकी सचिव बिमला श्रेष्ठ तथा दमौली बजार ईकाई अध्यक्ष एवं क्याम्पसका पूर्व विद्यार्थी सुक नारायण मल्लले पनि व्यवसायीक जिवनको अनुभव व्यक्त गरेका थिए ।
सो कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थी एवं व्यावसायिक माछापालक किसान ध्रुव भण्डारीले माछा पालन व्यवसायका अवसर र चुनौतीहरूको बारेमा आफ्नो भोगाइ एवं विचार प्रस्तुत गरेका थिए । साथै सफल बाख्रा पालन व्यवसायी र हाल निजामती सेवामा अधिकृत स्तरमा कार्यरत क्याम्पसका पूर्व विद्यार्थी व्यास–१० निवासी नारायण अधिकारीले बाख्रापालन व्यवसाय गर्नु अघि ध्यान दिनुपर्ने विषयहरू त्यस व्यवसायको बजार र चुनौतीहरूका बारेमा सहभागीहरुलाई अनुभव सहित जानकारी अवगत गराएका थिए ।
दुग्ध व्यवसायी एवं क्याम्पस सञ्चालक समितिका सदस्य सिर्जना तिवारीले दुग्ध व्यवसायमा लाग्नका लागि विद्यार्थीहरुलाई प्रेरणा दिँदै त्यस व्यवसायमा लाग्दा ध्यान दिनुपर्ने कुराहरू आफ्नो अनुभवमा सुनाएकी थिइन् । तिन घार मौरीबाट मौरी पालन व्यावसाय सुरु गरेका सफल मौरीपालक किसान रामनाथ भट्टराईले सयौं मौरी घारहरू तयार गरी व्यावसायिक मौरी पालनमा आफूलाई प्रवद्र्धन गर्दा विगतदेखि वर्तमानसम्मआफ्नो अनुभव विद्यार्थीहरूलाई सुनाएका थिए । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष गौरव पन्थले पुरक पाठ्यक्रमले विद्यार्थीको ज्ञान र सीपमा निखार ल्याउन सहयोग गर्ने विश्वास व्याक्त गरेका थिए ।
क्याम्पसको पूरक पाठ्यक्रम व्यवस्थापन समितिका अध्यक्ष एवं सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा विज्ञान तथा प्रविधि विभागका विभागीय प्रमुख राजन घिमिरेले स्वागत मन्तव्य राखेका थिए । पूरक पाठ्यक्रमको औचित्य माथि क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रकाश पारेका थिए ।
पूरक पाठ्यक्रमका विज्ञहरू प्राध्यापकहरु रूपक श्रेष्ठ उप प्राध्यापक प्रकाश गैरे र सरला देवकोटाले पाठ्यक्रमको हाइलाइट प्रस्तुत गरेका थिए । सो अन्तरक्रियामा सञ्चालक समितिका सदस्य एवं जलदेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मोहन गिरी, सदस्य एवं भादगाउँ खानेपानीका अध्यक्ष चिजबहादुर दरै र सदस्य एवं आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, सदस्य एवं निर्माण समितिका संयोजक क्या.सहवीर उचाइ र सदस्य कल्पना पोख्रेल, सञ्चालक समितिका आमन्त्रित सदस्य क्या. सोमबहादुर थापा, विज्ञानचौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्थ, सहायक क्याम्पस प्रमुख सागर पौडेल, क्याम्पसका नेपाली विभागका विभागीय प्रमुख डा. सुशीलप्रसाद वाग्ले, कसका प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका सचिव अनुप आले, एविसि विज्ञान क्लबका अध्यक्ष अब्बास मिया र विज्ञान शिक्षा विषयका अध्ययनरत विद्यार्थीहरू समेतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विज्ञान विषयका उपप्राध्यापक सागर न्यौपानेले गरेका थिए ।