देवघाट, माघ २६
देवघाट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले आफुमाथी संघातिक आक्रमण भएको भन्दै जिउधनको सुरक्षा गरि पाउन माग गरेका छन् । गत बुधबार गाउँपालिकालाई निबेदन पत्र बुझाउँदै वडा अध्यक्ष गुरुङले पुर्व वडा अध्यक्ष पदम बहादुर गुरुङको योजनामा आफुमाथि ज्यानमार्ने उद्देश्यले आक्रमण भएको भन्दै जिउधनको सुरक्षा गर्न माग गरेका हुन् ।
गत माघ १० र ११ गते देवघाट गाउँपालिका स्तरीय युवा तथा खेलकुँद विकास समितिको आयोजना तथा व्यवस्थापनमा राष्ट्रिय आधारभूत विद्यालय काफलडाँडाको प्राङ्गणमा वडा नम्बर ४ स्तरीय प्रथम वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको थियो । सो प्रतियोगिताको शिर्षक प्रति असन्तुष्टि जनाउँदै सो कार्यक्रममा आफुलाई इज्जत नगरेको तथा सरसल्लाह समेत नलिएको भन्दै पुर्व वडा अध्यक्ष पदम बहादुर गुरुङ्गले फोन मार्फत असन्तुष्टि व्यक्त गरेको वडा अध्यक्ष मित्रलालले बताए ।
उक्त कार्यक्रम वडा स्तरीय युवा तथा खेलकुद समितिका अध्यक्ष श्याम गरुङको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा देवघाट गाउँपालिका युवा तथा खेलकुद समितिको उपाध्यक्ष तथा वाईसिएल देवघाट गाउँ कमिटिका अध्यक्ष योगेन्द्र गरुङ्ग वडा स्तरीय खेलकुँद समितिका सहसचिव टेकबहादुर गुरुङले कार्यक्रमको सन्चालन गरेका थिए ।
यसैक्रममा गत माघ १७ गते छिमेकी एकबहादुर गुरुङ्गको छोरीको विवाहा कार्यक्रम रहेकोले उक्त कार्यक्रममा आफुलाई पनि आमन्त्रण भएको हुँदा खेलकुद कार्यक्रमका सह–संचालक योगेन्द्र गरुङ्ग सहित आफु उक्त बैवाहिक कार्यक्रममा उपस्थित भएकोमा राती ९ः३० बजेको समयमा उक्त खेलकुँदको विषयलाई लिएर आफु र योगेन्द्रमाथि पूर्व वडाध्यक्ष पदम गुरुङका भाई सागर गुरुङ तथा उनका भान्जा नाता पर्ने टार्जन गुरुङ लगायतका व्यक्तिहरुले संघातिक आक्रमण गरेको वडा अध्यक्ष गुरुङले बताए ।
वडा अध्यक्षको हैसियतमा वडा नम्बर ४ मा आयोजना हुने सबै कार्यक्रम र प्रतियोगितालाई सफल पार्ने मुख्य दायित्व रहेको भन्दै उनले गाउँपालिका स्तरीय युवा तथा खेलकुँद विकास समितिले आयोजना गरेको कार्यक्रमलाई असफल बनाउने कार्य विरुद्ध आफु लागेको बताए । सो प्रतियोगिताको आयोजना, व्यवस्थापन तथा निमन्त्रणा लगायतको सबै काम गाउँपालिका स्तरीय युवा तथा खेलकुँद विकास समितिले नै गरेको वडा अध्यक्ष गुरुङले बताए । आफु वडा अध्यक्षको हैसियतमा अतिथिको रुपमा उपस्थित भएको उनले बताए । वडामा हुने खेलकुँद कार्यक्रममा आफ्नो मनोमानीमा हुनुपर्ने र बिनियोजित रकम आफुले भनेको अनुसार नै खर्च गर्न पाउनु पर्ने भन्दै पुर्व वडा अध्यक्ष पदमको योजनामा आफुमाथि आक्रमण भएको मित्रलालले बताए ।
सो आक्रमणपछि घटनास्थलबाट भागेर आफु जोगिएको उनको भनाई छ । ‘केही साथीहरुले जोगाएर नभगाएको भए मेरो ज्यान जाने थियो’ उनले भने ‘रातभर लुकेर बसेँ ।’ उक्त आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै गाउँपालिका कार्यालयमा निबेदन दिएपनि गाउँपालिकाबाट हालसम्म कुनै सुनुवाई नभएको उनले बताए ।
इलाका प्रहरी कार्यालयबाट घटनाको बारेमा उजुरी दिन अनुरोध गरेको भएपनि आफुले पुर्व जनप्रतिनिधि संलग्न भएको घटनालाई एकै पटक प्रहरी समक्ष नजाउँ, सकेसम्म माफी मगाएर आयन्दा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाउन लगाउँ भन्ने मनसायले अहिलेसम्म प्रहरी कार्यालयमा नगएको उनले बताए । आवश्यक परेमा शान्ति सुरक्षा र दोषीहरुलाई कारवाहीको माग गर्दै इप्रका देवघाटमा उजुरी दिन पनि सकिने उनले बताए । मित्रलाल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।