देवघाट, चैत ६
देवघाट गाँउपालिका–२ स्थायी घर भई हाल व्यास नगरपालिका–५, पिपलटारमा बस्दै आएकी क्यान्सर पीडित ४९ वर्षिया बिनुमाया गुरुङले उपचारको लागि आर्थिक सहयोगको याचना गरेकी छिन् ।
कलेजोको क्यान्सरबाट पीडित रहेकी उनले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उपचारकोलागि आर्थिक सहयोग गर्न अनुरोध गरेकी हुन् । मुटु पोल्ने तथा पेट फुल्ने समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा उपचार गराएकी गुरुङले विपी कोईराला क्यान्सर अस्पताल भरतपुरमा पुगेर परिक्षण गर्दा कलेजेको क्यान्सर भएको पुष्टि भएको थियो ।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेकी गुरुङको स्वास्थ्य उपचारको लागी हालसम्म ठुलो रकम खर्च भईसकेको र अब थप उपचारको लागि आर्थिक अभाव भएको हुदाँ सहयोगको लागी सबैसँग अनुरोध गरिएको बिनुमायाका पति दलबहादुर गुरुङले बताए । आफ्नो नाममा जग्गा नभएका उनीहरु हाल हाल अर्काको जग्गामा बस्दै आएका छन् । एक छोरा र २ छोरी रहेका गुरुङको छोरा वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।
दैनिक ज्याला मजदुर गरेर जीवन यापन गर्दै आएको गुरुङ परिवारमा श्रीमतीको कलेजोको क्यान्सर देखिएपछि कसरी उपचार गर्ने भन्ने पीडामा रहेको दलबहादुरले वताए । हालसम्म ऋण गरेर करिब २ लाख उपचारमा खर्चिसकेका गुरुङ दम्पतीले परिवारको उपचारका लागी सहयोग जुटाईदिन आग्रह गरेका छन् ।