दमौली, चैत ५
व्यास नगरपालिकाले डेंगु नियन्त्रणका लागि पूर्व तयारी सहितको विभिन्न कार्यक्रम सन्चलन गर्न आह्वान गरेको छ । सोमबार सबै वडा कार्यालय, सबै स्वास्थ्य संस्था, सबै सामुदायिक विद्यालय तथा सबै टोल विकास संस्थालाई पत्र पठाई व्यास नपाले डेंगु नियन्त्रणकोलागि पुर्व तयारी थाल्न अनुरोध गरेको हो । गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले नगरपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गत वर्ष नगरपालिकाका सबै वडामा डेंगुको संक्रमण फैलिई जनस्वास्थ्य समस्याको रुपमा रहेको र तनहुँ जिल्ला मध्ये व्यास नगरपालिका क्षेत्र सबैभन्दा बढि प्रभावित भएको र यस रोगको संक्रमणबाट अकल्पनिय रुपमा जनधनको समेत क्षती पुगेको हुँदा यस वर्ष पनि गर्मीयाम सुरु हुन लागेको हुँदा समयमै सजगता अपनाउनु पर्ने बताए ।
डेंगु ज्वरो लाग्न नदिन पुर्व तयारी, रोकथाम, लामखुट्टे नियन्त्रणमा प्रभावकारी कार्य समयमै सन्चालन गरि नागरिकको स्वास्थ्य सुरक्षाको लागि प्राथमिकतामा राखी यस रोगको रोकथाम, नियन्त्रण र न्युनिकरणकालागि सरोकारवाला सबैसँग समन्वय गरि जनस्तरसम्म सचेतनाका विभिन्न कार्यक्रम सन्चालन गर्नु पर्ने सोतीले बताए ।
डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान र फुलपार्ने ठाउँ खोजी गरि लार्भा ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिएको सोतीले बताए । सबै वडा कार्यालय, संघसस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र जनसमुदायलाई उक्त अभियान सञ्चालन गर्न अनुरोध गरेको उनको भनाई छ ।
अभियानमा आ आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नविन, खाडल पुर्ने, टिनका डव्वा, थोत्रा टायर, गमला, फलदानी वाल्टीमा पानी जम्न नदिने, विहान र साँझपख यो रोगका लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घर बाहिर ननिस्कने र यदि निस्कनै परेमा पुरै शरिर छोपिने किसिमका लुगा लगाउने बारेमा पनि सचेत गराईएको सोतीले बताए ।
घरका झ्याल ढोकामा जाली लगाउने तथा सुत्दा झुलको प्रयोग गर्ने, हाँस, सुँगुर–बंगुर पालन फर्म वरपर सँधै सरसफाई गर्ने, जमेको पानीमा लामखुट्टेले फुल पारेर बृद्धि विकास गर्ने हुँदा त्यस्ता सम्भावित स्थानहरुमा सरोकारवालाहरुको सहयोगमा खोज र नष्ट गर अभियान सन्चालन गर्ने तथा एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, गलेको महशुस हुने, आँखाको भित्री भाग दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, शरिरमा विविरा जस्ता लक्षण जस्ता स्वास्थ्यमा समस्या देखिएमा आफुखुसी औषधी सेवन नगरि तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।
गत वर्ष गर्मी मौसममा तनहुँ डेंगुबाट आक्रान्त बनेको थियो । गत वर्ष तनहुँमा डेंगु सङ्क्रमितको सख्या करिब सात हजार पुगेको थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करवावु अधिकारीका अनुसार डेंगुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले गत गर्मी महिनाको सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्व तयारी थाल्नुपर्ने बताए ।