बन्दिपुर, चैत १३
तनहुँको बन्दीपुर गाउँपालिकाले जनप्रतिनिधि शिक्षक कर्मचारी र सार्वजनिक पद धारणा गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने नियम लागू गरेको छ ।



सोमबार एक सूचना जारी गर्दै बन्दीपुर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक अभिभावक संघका सम्पूर्ण पदाधिकारीहरूले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीहरूलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउने निर्णय भएकोले सो निर्णय कार्यान्वयन गराउन सम्पूर्ण सरोकारवाला निकायमा अनुरोध गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । गाउँपालिका अध्यक्ष थापाले कार्यपालिका बैठकमा बृहत छलफल गरेर यस्तो निर्णय गरिएको बताएका छन् ।
संस्थागत विद्यालयहरू मात्रै गुणस्तरीय हुन्छन् सामुदायिक विद्यालयहरू राम्रा हुँदैनन् भन्ने भ्रमलाई त्याग्नका लागि यस्तो निर्णय गरिएको अध्यक्ष थापाले उल्लेख गरे । अध्यक्ष थापाले सार्वजनिक पद धारणा गर्ने व्यक्तिलाई बाध्यात्मक व्यवस्था नगर्दासम्म सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न नसक्ने भएकोले यो निर्णय गर्नुपरेको बताउँछन् ।
गाउँपालिकाले सामुदायिक विद्यालयको विकास र शिक्षामा गुणत्मा सुधार ल्याउन चालेको कदम सरानीय रहेको र राज्यबाट आएका सेवा सुविधामाथि जनप्रतिनिधि तथा कर्मचारीले सही तरिकाले सदुपयोग गर्न सके शिक्षाको गुणस्तरले राम्रो फड्को मार्ने गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले बताउँछिन् ।
बन्दीपुर गाउँपालिकाका ६ वटा वडामा ३१ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । ती विद्यालयहरूमा करिब २१ सय विद्यार्थीहरू अध्ययनरत छन् । यस्तै गाउँपालिका भित्र करिब २००० देखि २५०० जना सम्म निजी विद्यालयमा अध्ययनरत छन् ।
बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा निजी विद्यालयहरूको भन्दा अझै गुणस्तरीय शिक्षा प्रदान गरी सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाइने गाउँपालिका अध्यक्ष थापाले बताएका छन् ।