दमौली, बैशाख ३
तनहुँको म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।
सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले गणतन्त्रको उपलब्धीलाई अझ बलियो बनाउनुपर्ने चुनौती रहेको बताए । झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता विकासको वाधक भएको भन्दै राष्ट्रपती पौडेलले सुशासन र सुदृढ व्यवस्थापनका माध्यमबाट यसको चिरफार र शल्यक्रिया गर्नु पर्ने बताए ।
‘व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासको गतिलााई तीव्रता दिनुछ भने अर्कातिर जनताको बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र बलियो बनाउनु हाम्रो साझा दायित्व बनेको छ’ राष्ट्रपति पौडेलले भने ।
कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै विस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गरे । हामीले कर्म गर्ने हो, निराश हुने होइन । नेपालमा विकासको अपार संभावना छ र हामी चारैतिरबाट विस्तारै विकासको बाटोमा अगाडि बढ्दैछौ । म्याग्दे गाउँपालिकाको निवर्तमान र हालको जनप्रतिनिधिको टिम असाध्यै राम्रो भएको भन्दै राष्ट्रपती पौडेलले सबै जनताको भावनालाई सम्मान गर्दै जनताको अपेक्षाहरु पुरा गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले बन्दै गरेको सेती जलाशय परियोजना, अवको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले बिस्तारै सबैतिरबाट सुविधा थपिदै गएको र गिरिजाप्रसाद स्वाशप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिनुपर्ने आवश्यकता औल्याए ।
नेपालको संवैधानिक व्यवस्था अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पुरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै राष्ट्रपति पौडेलले विगतमा सिंहरबारमा केन्द्रीकृत शासनप्रणालीलाई विकेन्द्रीत गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढंगले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट पारे ।
सो कार्यक्रममा बोल्दै गन्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघीयताको उपलब्धी स्वरुप गाउँ गाउँमा सुविधा सम्पन्न प्रशासकीय भवनहरु बनेको बताए । म्याग्दे गाउँपालिकाका जनताको आधारभुत आवश्यकता पुरा गर्ने खालको योजनामा गन्डकी प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री अधिकारीले बताए ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीले म्याग्दे गाउँपाालिकाको समृद्धी र विकासका लागि गाउँपालिकाको वर्तमान टिमले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, निवर्तमान गाउँपालिकाका अध्यक्ष मायादेवी राना लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले र स्वागत मन्तव्य उपाध्यक्ष बालकृष्ण घिमिरेले राखेका थिए ।
एसएम वल्र्डवाईड सुशन जेभी काठमाडौंले २०७७ चैत १२ गते प्रथम चरणको दुई तला निर्माणकोलागि ४ करोड ९२ लाख १३ हजार ७०८ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । २०८० चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता अनुसार समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकराी दिए ।