गण्डकीका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो

Devghat Online

शेयर गरौ

१७ वैशाख, गण्डकी । गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ ।
सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । हिमाली जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा २ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।
सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उनको भनाइ छ ।
नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।
डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले जानकारी दिए । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उनको भनाइ छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उनले बताए । म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ ।
निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ । वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए ।
‘डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ’, उनले भने ।
डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए । उनले गर्मीयाममा वनमा हुने पातपतिंगर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ ।
मानवीय कारणले नै डढेलो लाग्ने गरेको अधिकृत थापाको भनाइ छ । ‘५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ’, उनले भने, ‘पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती