दमौली, बैशाख २३
व्यास नगरपालिकाले वडा नम्बर ५ को मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माण सम्बन्धि मापदण्ड तोक्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले मानहुँमा घर निर्माण सम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रकृया सुरु गर्ने र निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
बैठकले आ.व.०८१÷०८२ को वजेट तयारी सम्बन्धमा वडागत प्रगतीका सम्बन्धमा छलफल गरि बजेट अनुमान तथा बजेट सीमा निर्धारण समितिको वडागत, शाखागत, कार्यक्रमगत बजेट सीमा सम्बन्धि प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । आगामी जेठ १ गते देखि प्लाष्टिक झोला मुक्त अभियानलाई कडाई पूर्वक पालना गर्ने गराउने गरी प्लाष्टिक मुक्त अभियान सम्बन्धि कार्यविधि २०८१ पारित गर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाका प्रवक्ता जिवन गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।
व्यास नगरपालिकाका घर सटरहरुको उठ्न बाँकी भाडा बुझाउन पटक पटक सम्बन्धित भाडामा रहनेलाई सूचना गर्दा केही घर भाडामा बस्नेहरुवाट भाडा उठेको देखिएको र भाडा उठ्न बाँकी अन्य कोठा, सटरहरुको नियमानुसार प्रकृया अघि बढाई खाली गर्न निर्देशन दिने निर्णय गरेको बताईएको छ ।