काठमाडौं, जेठ ६
उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले गगनप्रति आक्रोश व्यक्त गरेका हुन् । ‘सहकारी ठग्ने, दोहोरो नागरिकता बोक्नेलाई मात्र होइन, कृषि अनुसन्धान (परिषद्) दुरुपयोगको आरोप लगाउनेलाई पनि कारबाही गर्नुपर्छ,’ लामिछानेले भने, ‘देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही गर्नुपर्छ, देशको मन्त्री होस् या पार्टीको महामन्त्री ।’लामिछानेले गगनको नाम नलिए पनि पार्टीको महामन्त्री भनेर उनैतर्फ संकेत गरेका थिए ।
यसअघि गगनले सहकारी ठग र दोहोरो नागरिकता बोक्नेलाई पनि कारबाही गरेर घर पठाउनुपर्ने बताएका थिए । लामिछानेले कांग्रेसले आफूलाई प्रधानमन्त्री अफर गरेको दाबी समेत गरे ।
१५ वर्षदेखि संसदको लास्ट सीटदेखि फ्रन्ट सीटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का होस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन । आफैं सरकारमा बसेर यसलाई बाहिर पठाउ, उसलाई बाहिर पठाउ भन्नुको साटो प्रमाण जुटाएर कारबाही गर्ने आँट गरेको भए हुन्थ्यो । अप्रमााणित हल्ला र मिडिया ट्रायललाई बोकेर संसदलाई लेक्चर दिनुभयो काम गर्नुभयो ।
सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।
कांग्रेस महामन्त्रीले संसद वैठकमा उपप्रधानमन्त्रीले आफैं निवेदन दिएर ऋण मागेको प्रमाण मसित छ भन्नुभयो । त्यस्तो प्रमाण जहाँबाट भए पनि उपलब्ध गराइदिनुस, म राजनीति छोड्छु भनेको थिएँ । धेरै दिन भइसक्यो मैले प्रमाण पाएको छैन । तर धन्दा नमान्नुस तपाईंले राजनीति छोड्नु पर्दैन । तपाईंजत्तिको नेता यो देशलाई चाहिन्छ ।’
लामिछानेले मिडियाको हल्लासँग रास्वपा नतर्सिने बताए । उनले भने, ‘रास्वपा कायरहरुको पार्टी होइन । रवि लामिछाने कायर होइन । मिडिया ट्रायल हामीसँग चल्दैन । मलाई खेल्न र हार्न समस्या छैन । तर खेल फेयर हुनुपर्छ । झूटा मुद्दासँग म डराउँदिन । म भूईंको मान्छे हो, भूईंसम्म निहुरिन सक्छु, तर झुक्न स्वीकार्य छैन ।’