देवघाट, जेठ ८
आर्थिक अभावमा देवघाट गाउँपालिका–४ का रातेपानीका ११ वर्षीय बालक राम भूजेल भाँचिएको हातको उपचार गर्न नसकी घरमै बस्न बाध्य भएका छन् । १४ महिना अघि भिरबाट लडेर दाहिने हात भाँचिएका उनको आर्थिक अभावमा उपचार गर्न नसकी अभिभावकहरुले त्यसै घरमा राखेका छन् ।
भिरबाट लडेको एक वर्ष हुँदासम्म पनि उपचार नपाएका भूजेलको दाहिने हातको पाखुरामा हड्डी बाहिर निस्किएको छ । उनी हातको पाखुरामा हड्डी देखाएर हिड्न बाध्य भएका छन् । बालकका हजुरबुबा तुलबहादुर भूजेलले रामको उपचारमा यसअघि नै डेढ लाख खर्च भईसकेको तर राम्रोसँग निको नभएको र अहिले पैसा पनि नभएको कारण थप उपचार गर्न नसकेको बताए । नातीको थप उपचारको लागि अव आफुसँग कत्ति पनि पैसा नभएको तुलबहादुरले बताए ।
चरम आर्थिक सङ्कटमा रहेका ६३ वर्षीय तुलबहादुर भुजेलले नातिको यो अवस्था हेर्ने रहर कत्ति पनि नभएपनि उपचारका लागि अस्पतालसम्म पुग्न सक्ने अवस्था नरहेको हुँदा नातिको पीडा देख्नु र महसुस गर्नुको विकल्प नभएको बताए ।
हजुरबुबा तुलबहादुरका अनुसार रामको एक वर्ष पहिले भिरबाट लडेर हात भाचिएको थियो । घटना लगत्तै उनको चितवनकोे भरतपुर अस्पतालमा शल्यक्रिया भएपनि आर्थिक अवस्था कमजोर हुँदा थप उपचार हुन सकेन । छोराको उचार गर्न नसक्दा शल्यक्रियापछि हातबाट पिप बग्ने र छाला झर्ने जस्ता समस्या देखिएपछि हातको पाखुराबाट हड्डी बाहिर निस्किएको उनले बताए । रामका बुवा ३६ बर्षिय सुक बहादुर भुजेल पनि भिरबाट लडेर शारीरिक रुपमा अपाङ्ग बनेको हुँदा रामको हेरचाह हजुरवुवा तुलबहादुरले गर्दै आएका छन् ।
सात वर्षअघि भीरबाट लडेर घाइते भएका ३६ वर्षीय सुकबहादुर अहिले पनि चोट बोकेरै हिडिरहेका छन् । उनको देब्रे हात र देब्रे खुट्टाले राम्रोसँग भर पाउँदैन । ‘एकपल्ट अस्पताल पुगेको थिएँ । डाक्टरले नसा च्यापिएको छ, अप्रेसन गर्नुपर्छ भन्नुभएको थियो । पैसा नभएर फर्केर आएँ’, सुकबहादुर भने ‘अहिले हात पनि राम्रोसँग चलाउन मिल्दैन । खुट्टाले पनि भर पाउँदैन । ओरालो हिँड्नै मिल्दैन ।
‘छोरा र नातिको उपचारमा सकेको खर्च गरेँ, तर दुवैजनाले नै राम्रोसँग उपचार पाउन सकेनन्’ तुलबहादुरले भने ‘छोरा र नातिलाई आफूसँगै हिँड्न सक्ने त बनाएँ । तर, पूरै निको हुने गरी उपचार गराउन सकिनँ ।’ दस जनाको परिवार धान्ने जिम्मा तुलबहादुरको काँधमा छ । अहिले घरमा उनी सहित श्रीमती, तीन छोरा, एक बुहारी, दुई नाति र दुई नातिना सँगै छन् । घरमा आयस्रोत केही छैन ।
आर्थिक अवस्था निकै कमजोर रहेको यो परिवारमा प्रकृतिले पनि साथ दिएन । गत बैशाख १५ गते परेको चट्याङले उनिहरुको बस्ने बास समेत जलेको छ । अहिले स्थानियहरु सहयोग जुटाएर उनिहरु बस्ने बास बनाइदिने अभियानमा छन् ।
देवघाट गाउँपालिकाले चट्याङले घर जलेको परिवारलाई तत्कालिन राहत उपलब्ध गराएको र अन्य सहयोगीहरुले पनि घर बनाउन सहयोग गरेका छन् । नेकपा एमाले देवघाट–५ का अध्यक्ष गणेश थापाले देवघाटबासीहरुले आर्थिक सहयोग संकलन गरेर बालकको उपचारको लागि सहयोग गर्ने बताए ।