देवघाटको ३५ खोप केन्द्रबाट ५४१ बालबालिकालाई आइपिभी खोप लगाइने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १४

देवघाट गाउँपालिकाको ३५ वटा खोप केन्द्रबाट ५४१ जना बालबालिकालाई पोलियो विरुद्धको आइपिभी खोप लगाइने भएको छ । गाउँपालिकाका अनुसार ६ बर्ष देखी ८ बर्ष उमेर सम्मका २६५ बालक र २७६ जना बालिकालाई उक्त खोप लगाइने भएको छ ।

खोप सन्चालनको लागि पाँच वटा वडाका ३५ वटा खोप केन्द्र निर्धारण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार बुढाथोकीले जानकारी दिए । खोप केन्द्रमा अधिकांश विद्यालय रहेका छन् । वडा नम्बर १ मा ४ वटा, वडा नम्बर २ मा ५ वटा, वडा नम्बर ३ मा ९ वटा, वडा नम्बर ४ मा ५ वटा र वडा नम्बर ५ मा १२ वटा खोप केन्द्र तोकिएको छ ।खोप कार्यक्रम जेठ १४ गते सुरु भई जेठ १८ गतेसम्म चल्नेछ ।

तनहुँमा यस वर्ष दुई चरणमा गरि १४ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । जेठ १४ देखि २८ गतेसम्म बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

पहिलो चरण जेठ १४ देखि २० गते सम्ममा व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडामा खोप लगाईने छ । त्यसैगरि दोस्रो चरणमा जेठ २२ गते देखि २८ गते सम्ममा भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, र घिरिङ गाउँपालिकाका ४७ वटा वडामा खोप लगाइने छ ।

कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा दुई सय ९० खोप केन्द्र निर्धारण गरी चार सय ६५ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.विद्या तामाङले जानकारी दिइन् ।

जिल्लाका १० वटा पालिकामा १४ हजार चार सय ६५ बालबालिकालाई खोप लगाउन आवश्यक तयारी थालिएको कार्यालयले जनाएको छ । खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू