देवघाट, जेठ १४
देवघाट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । शनिबार वडा नम्बर ३ स्थित छिपछिपे स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा देवघाट गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो । गत वर्ष पनि देवघाटलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो ।
‘स्थानीय स्वामित्व र सहभागितामा–पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारा सहित सन्चालित खोप अभियान पुरा भएको र खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पुरा गरेपछि जिल्ला खोप समन्वय समिति मार्फत देवघाट गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाईजर अधिकृत शंकरबाबु अधिकारीले बताए ।
देवघाट गाउँपालिका भित्र रहेका १६ महिना देखि ५९ महिना सम्मको सबै बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको अनुगमनको क्रममा पुष्टिभएपछि पुर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको अधिकारीले बताए । हरेक वर्ष खोपको सुनिश्चिता भएपछि यस्तो घोषणा गरिने कार्यालयले जनाएको छ ।
सो कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष तिलबहादुर थापाले खोप सुनिश्चितताको व्यानरमा हस्ताक्षर गरी घोषणा गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले अब खोपको कारणले कुनै पनि बालबालिका अपाङ्गता हुनु नपर्ने बताए ।
देवघाट गाउँपालिका ३७९८ घरधुरीमा १५ देखि ५९ महिनाको बच्चा जम्मा ६१५ जनामा ६१३ जनाले खोप प्राप्त गरेपछि र सम्बन्धित वडा अध्यक्षहरुको सिफारिस पश्चात बालबालिकाहरु खोपबाट बन्चित नभएको सुनिश्चित गरेर तथा पटक पटकको अनुगमन पश्चात गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणाले बाल अधिकारको सम्मान भएको र स्वास्थ्य प्रति गाउँपालिकाको सम्बेदनशिलता देखाउने बताए ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाईजर अधिकृत शंकरबावु अधिकारी, वडा नम्बर २ का अध्यक्ष मीन बहादुर राना, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आले, कार्यपालिका सदस्य याम मायाँ गुरूङ, छिपछिपे स्वास्थ्य चौकीका हेमनाथ कडेल, बैदी स्वास्थ्य चौकी पुष्पहरि रानाभाट, देवघाट धर्मार्थ अस्पतालका डा.सुरज कुमार गुप्ता लगाएतको सहभागिता रहेको थियोे ।