अन्जान परियार । घिरिङ। जेठ १६
गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले मंगलबार घिरिङ गाउँपालिका–३ डाँडाथोक स्थित घिरिङकोट मन्दिरको सरसफाई गरेको छ । श्री नम्बर ३ राजदल गण शुक्लागण्डकी नपा–६ खैरेनीटारका सेनाको टोलिले घिरिङकोटमा रहेको कालाभैरव मन्दिर परिसर तथा पार्क सरसफाइ गरेको हो ।
उक्त टोलिले ऐतिहासिक धार्मिक स्थल घिरिङकोट तथा मन्दिर परिसर सरसफाइ सँगै विपद्को समयमा हुन सक्ने घटनालाई समेटेर विपद् सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन समेत गरेको थियो । सेनानी मनोज सुवेदीको नेतृत्वको सेनाको टोलीले बाढि, पहिरो लगायत भइपरी आउने विपदमा उद्धार गर्ने सम्बन्धी डेमो प्रदर्शन गरेको हो ।
सो प्रर्दशनीमा बाढी, पहिरो गएको समयमा भिर तथा पहिरोको बीचमा अड्किएका व्यक्तिहरूलाई सेफ्टी हेल्मेट तथा विभिन्न रोपको सहायताले उद्धार र घाइतेको उपचार सम्बन्धी औषधि मेडिकलको डेमोस्ट्रेशन अभ्यास प्रदर्शन गरिएको थियो । यस्तै ग्यास सिलिण्डरबाट आगो नियन्त्रण, बाढी बाट विपद्मा परेका लाई उद्धार लगायत विभिन्न अभ्यास सहित अभिमुखिकरण गरिएको थियो ।
सो अवसरमा सेनाको टोलीले सामान्यतया विपद्मा भैपरी आउँदा प्रयोग गरिने सामाग्रीहरु गैटी, बेल्चा, साबेल, थ्रो ब्याग, फायर एक्सटिंग्विशर, डोरि, सेफ्टी हेल्मेट, स्ट्रेचर लगायत न्युनतम सामाग्री गाउँपालिका तथा वडा कार्यालयहरुमा राख्न सुझाब दिएका थिए ।
सो कार्यक्रममा घिरिङ गाउँपालिका पुर्व अध्यक्ष रनबहादुर राना तथा वडा नम्बर ३ का वडा अध्यक्ष तहल सिंह थापाले विपदको सिजन सुरु भएकोले जोखिम क्षेत्रहरु बाट सुरक्षीत हुन घिरिङ बासिलाई अनुरोध गरे । साथै घिरिङको ऐतिहाँसिक घिरिङकोट सरसफाई तथा विपद् ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण गर्न आएका सेनाको टोलिलाई धन्यवाद दिए ।