आजदेखि भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुँदै

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
चितवन जेठ १८।

आजबाट भरतपुरमा हुने तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीको हुँदैछ । नेपाल पोल्ट्री महासंघ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट एशोसिएसनको संयुक्त आयोजनामा “अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो २०२४” हुन लागेको हो । भरतपुरको चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ । एक्स्पोमा १५० स्टल रहने छन् ।
जहाँ नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत देशका स्टल रहने छ । बिहिबार गरिएको पत्रकार सम्मेलन मार्फत नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानहरुलाई एकै ठाउँमा सबै कुरा उपलब्ध हुने गरी पोल्ट्री पाठशाला सञ्चालन गरिने बताउनुभयो । उहाँले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने, औषधि, दाना, चल्ला, खोर, फर्म लगायत सम्पूर्ण विषयको प्रविधि सहित किसानलाई शिक्षा दिने जानकारी दिनुभएको थियो ।
उहाँले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । एक्स्पोमा १५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोले भरतपुर भ्रमण वर्षलाई पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । एक्स्पोमा आउने प्रदर्शक र पाहुनाहरुले बिहिबार देखि भरतपुरका ठूला होटलहरु भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू