युवा अभियन्ता सुदिपको अभियानः दोश्रो दिन ३ सय भन्दा बढि जेष्ठ नागरिकलाई निशुल्क खाना

Devghat Online

शेयर गरौ

दमौली, जेठ २०

दमौलीका युवा अभियन्ता मोहम्मद गफ्फार सुदिपले जेष्ठ नागरिकलाई निशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छन् । सुदिपले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रको फारम भर्न आउने जेष्ठ नागरिकहरुलाई निशुल्क खानाको व्यवस्थापन गरेका हुन् ।

सरकारले आगामी साउन महिनाबाट सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचय पत्रको नम्बर अनिवार्य चाहिने निर्णय गरेपछि बृद्धबृद्धाहरु फारम भर्न विहान ६ नबज्दै जिल्ला प्रशासन कार्यालयमा लाइन लाग्ने गरेका छन् । त्यसमध्ये अधिकांश बृद्धबृद्धाहरु भोकै लाइनमा बस्नु परेको गुनासो आएपछि आफुले निशुल्क खानाको व्यवस्थापन गरेको सुदिपले बताए ।

उनले निशुल्क खानाको अभियान गत शुक्रबारबाट सन्चालन गरेका थिए । आइतबार दोश्रो दिन ३ सय भन्दा बढि जेष्ठ नागरिकले खाना खाएको सुदिपले बताए । उनले राष्ट्रिय परिचयपत्र फारम भर्ने काम सहजरुपमा नभएसम्म निशुल्क खानाको व्यवस्थापन गर्ने बताए । आफुलाई यो अभियानमा विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरुले सहयोग गरेको सुदिपले बताए ।

विहान भोकै लाईनमा बस्नु परेको र खाना र पानी समेत नपाएको अवस्थामा सुदिपले निशुल्क खाना खुवाउँदा जेष्ठ नागरिकहरु निकै खुसी देखिएका छन् । उनीहरुले सुदिप र उनको टिमलाई धन्यवाद र आर्शिवाद दिएका छन् । राज्यले गर्नु पर्ने काम एक व्यक्तिको पहलमा भईरहँदा पनि स्थानीय तहबाट कुनै चासो र सरोकार व्यक्त भएको भने छैन ।

दमौलीका युवा अभियन्ता सुदिप सार्वजानिक स्थानको सरसफाईबाट चर्चामा आएका थिए । उनले सन्चालन गरेको तनहुँ कालिका सहिद जंगल पार्क, मानुङकोटबाट सरसफाई अभियान सुरु गरेका थिए । उनकै संयोजनमा दमौलीको बुल्दीखोला र डुम्रेको चुँदी खोलाको बृहत सरसफाईमा विभिन्न संघ संस्था तथा हजारौं सर्वसाधरणको ऐक्यबद्धता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू